News 24 Television
प्रचारको पुरानै शैली, विकास निर्माणको आश्वासन

ओखलढुङ्गा । आसन्न प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा ओखलढुंगामा चुनावी गतिविधि तीब्र बनेको छ  ।  एक मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा विभिन्न दल र स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । उनीहरु अहिले गाउँ–गाउँमा पुगेर चुनावी अभियानमा ब्यस्त रहेका छन ।

निर्वाचनको मिति नजिकिँदै जाँदा ओखलढुंगामा उम्मेदवारहरूले चुनावी गतिविधि तीव्र पारेका छन् । उम्मेदवारहरु मतदाताको घरदैलोदेखि खेतबारीसम्म नै भोट माग्न पुगिरहेका छन् । उनीहरु यतिबेला मतदाताहरुलाई नयाँ आश्वसन बाँडदै मतदाता रिझाउनेदेखि प्रत्यक्ष संवादमा रहेका देखिन्छन् । 

सडक निर्माण, खानेपानी सुविधा, पुल, स्वास्थ्य सेवा जस्ता विषयलाई मुख्य एजेन्डा बनाउँदै उनीहरू मतदाता रिझाउने प्रयासमा छन । नीति निर्माण र राष्ट्रिय तहका विषयभन्दा दैनिक जीवनसँग जोडिएका यस्ता आश्वासन नै प्रचारका मुख्य हतियार बनेका छन । 

विगतका प्रतिनिधि सभा तथा स्थानीय तहका निर्वाचनमा पनि मतदाता रिझाउने शैली करिब उस्तै देखिँदै आएको छ । उम्मेदवारहरू मतदाताको घर–आँगन पुग्ने, हात मिलाउने, अंकमाल गर्ने, नाचगानमा सहभागी हुने जस्ता गतिविधिमार्फत आफूलाई साधारण र यही माटोसँग जोडिएको व्यक्ति भएको अनुभूति गराउने प्रयास गर्छन । 

कहिलेकाहीँ त यस्ता दृश्यमा आकर्षण थप्न विभिन्न चटकसमेत देखिने गरेका छन । तर यी दृश्यहरू ओखलढुंगाका मतदाताका लागि नयाँ भने होइनन् । विगतका निर्वाचनहरूमा पनि उम्मेदवारहरू यही शैलीमा देखिँदै आएका छन । चुनाव नजिकिँदा मात्रै देखिने सक्रियता र दोहोरिँदै आएका आश्वासनप्रति मतदातामा अपेक्षासँगै शंका पनि उत्तिकै रहेको देखिन्छ  । 

युवासहित धेरै मतदाताले पुरानै शैली दोहोरिएको भन्दै प्रश्न उठाइरहेका बेला उम्मेदवारहरू प्रत्यक्ष भेटघाट गरि मतदाता रिझाउने प्रयासमा छन् । उनीहरू मतदातासँग नजिकिनु, समस्या सुन्नु र स्थानीय आवश्यकतालाई बुझ्नु नै आफ्नो प्राथमिकता भएको दाबी गर्छन । 

घरदैलो र टोल–स्तरका कार्यक्रमबाट मतदातासँग विश्वासको सम्बन्ध बनाउने प्रयास उनिहरुको छ । तर  प्रतिनिधि सभाको निर्वाचन भए पनि बहस स्थानीय विकासमै सीमित रहँदा दीर्घकालीन नीति, संघीय संसदको भूमिका र राष्ट्रिय एजेन्डा ओझेलमा पर्ने मतदाताको बुझाई छ । चुनावी माहोल चर्किंदै जाँदा ओखलढुंगामा उम्मेदवार र मतदाताबीचको दूरी घटेको जस्तो देखिए पनि, निर्णायक प्रश्न भने अझै खुला छ । 

 

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update