News 24 Television
निर्वाचनमा बैक खाता अनिवार्य, नखोल्ने उम्मेदवार कारबाहीमा पर्ने !

कास्की । आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारले छुट्टै बैँक खाता खोल्नुपर्ने व्यवस्था छ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा ४९ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । जसमध्ये अहिलेसम्मा ३० जना उम्मेदवारले खाता सञ्चालनका लागि सिफारिस लगेको निर्वाचन कार्यालयले जनाएको छ ।  
 
उम्मेदवारले निर्वाचनसम्बन्धी गर्ने सम्पूर्ण खर्च विवरणका लागि अनिवार्य रूपमा नयाँ बैँक खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन आचारसंहिता २०८२ को दफा १६ मा निर्वाचन कार्यलाई व्यवस्थित र मर्यादित बनाउन निर्वाचन आयोगले अनिर्वाय खाता संचालनको व्यवस्था गरेको हो । 

तीन वटा निर्वाचन क्षेत्र रहेको कास्कीमा माघ २९ गतेसम्म ३० जना उम्मेदवारले खाता संचालनको लागि निर्वाचन कार्यालय कास्कीबाट सिफारिस लगेका छन् । उम्मेदवारलाई प्रचारप्रसार अवधि सुरु हुनुअगावै खाता खोलिसक्न अनुरोध गरिएको कास्की निर्वाचन कार्यालयले जनाएको छ । 

कास्की क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएका मध्ये १० जनाले सिफारिस लगेका छन् । क्षेत्र नम्बर १ मा जम्मा १ स्वतन्त्रसहित १७ जनाले उम्मेदवार छन् । कास्की क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका मध्ये ९ जनाले सिफारिस लगेका छन् । 

त्यस्तै क्षेत्र नम्बर २ मा स्वतन्त्र ५ जनासहित जम्मा १७ जना उम्मेदवार छन् । कास्की क्षेत्र नम्बर ३ मा ११ जनाले बैंक खाता संचालनका लागि सिफारिस लगेका छन् । क्षेत्र नम्बर ३ मा जम्मा १५ जना उम्मेदवार छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका तीनै क्षेत्रका उम्मेदवार क्रमस तिलक रानाभाट, माधव बास्तोला र मनोज गुरुङले बैंक खाता संचालनका लागि सिफारिस लगेका छन् । 

नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका तीन वटै क्षेत्रका उम्मेदवार क्रमस बैंनबहादुर क्षेत्री अधिकारी, रस्मि आचार्य र दामोदर पौडेल (बैरागी) ले सिफारिस लगेका छैनन् । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार बनेका जिल्लाका तीन उम्मेदवार क्रमस राजकाजी गुरुङ, हेमबहादुर थापा र गोपाल गिरीले सिफारीस लगेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका कास्की क्षेत्र नम्बर १ का खडकराज पौडेल र कास्की क्षेत्र नम्बर ३ का बिना गुरुङले सिफारीस लगेका छन् भने क्षेत्रनम्बर २ का उत्तम पौडेलले सिफारीस लगेका छैनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नम्बर २ का उम्मेदवार हेमजंग गुरुङले सिफारीस लगेका छन् भने क्षेत्र नम्बर १ का बाबुराम थापा र क्षेत्र नम्बर ३ का अर्जुन खनालले सिफारीस लगेका छैनन् ।

निर्वाचन आचारसंहिताअनुसार कुनै पनि उम्मेदवारले निर्वाचनमा हुने खर्च तथा प्राप्त सहयोग रकम बैंकिङ प्रणालीबाट मात्रै गर्नुपर्छ । 
२५ हजारभन्दा बढीको सहयोग तथा खर्च बैंकबाटै र त्यसभन्दा कम नगद लेनदेन गरे पनि रसिद भने दाखिला गर्नुपर्ने हुन्छ । खाता नखोल्ने तथा आचारसंहिता अटेर गर्ने उम्मेदवारले पत्राचारपछि पनि अटेर गरेमा ती उम्मेदवारलाई कारबाहीका लागि निर्वाचन आयोगमा सिफारिस गरिने निर्वाचन कार्यालय कास्कीले जनाएको छ । 

कोष तथा लेखा नियन्त्रण कार्यालयलाई उम्मेदवारले निर्वाचनमा गर्ने सम्पूर्ण खर्चको अनुगमनको जिम्मेवारी दिइएको छ । निर्वाचन आयोगका अनुसार कास्कीमा अधिकतम ३१ लाख रुपैयासम्म एक जना उम्मेदवारले खर्च गर्न पाउने छन् । क्षेत्र नम्बर १ मा २९ लाख, क्षेत्र नम्बर २ मा २७ र क्षेत्र नम्बर ३ मा ३१ लाख खर्च गर्न पाउने व्यवस्था तोकिएको छ । उम्मेदवारले निर्वाचन प्रयोजनार्थ बैंक खाता खोलेपछि उक्त वित्तिय संस्थाले निर्वाचन कार्यालयलाई जानकारी दिने छ । 

 

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update