News 24 Television
ओखलढुंगाको चुनावी क्षेत्र : कहाँ कस्तो सम्भावित खतरा ?

ओखलढुङ्गा । आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै ओखलढुंगामा सुरक्षा निकाय र प्रशासनले तयारीलाई तीव्र बनाएका छन । जिल्लाभर रहेका मतदान स्थल र केन्द्रहरूको स्थलगत अनुगमन तथा सुरक्षा ब्यवस्थापन गर्दै सुरक्षा अवस्थाको सूक्ष्म मूल्यांकन भइरहेको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष, भयरहित र सुरक्षित रूपमा सम्पन्न गराउने लक्ष्यसहित जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सम्बन्धित निकायबीच समन्वय बढाइएको हो । 

एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा यसपटकको निर्वाचनका लागि ८४ मतदान स्थल र १५७ मतदान केन्द्र निर्धारण गरिएको छ ।
जिल्लाको सुरक्षा संवेदनशीलता र भौगोलिक बनोटलाई आधार मानेर गरिएको वर्गीकरणअनुसार १२ वटा मतदान स्थल अति संवेदनशील, २० वटा संवेदनशील र ५२ वटा सामान्य सूचीमा राखिएका छन । 

अति संवेदनशील मतदान स्थलहरू मुख्यतः जिल्लाको लिखु, चिसंखुगढी र खिजिदेम्बा गाउँपालिकामा पर्दछन । यी केन्द्रहरुलाई ध्यानमा राख्दै अहिले सुरक्षा निकायको टोलीले सम्भावित जोखिम, आवत जावत मार्ग तथा आकस्मिक ब्यवस्थापनको सुक्ष्म अध्ययनलाई थप सक्रिय बनाईरहेको छ । 
 
अति संवेदनशील मतदान स्थलहरूमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिने छ भने नियमित गस्ती र निगरानी प्रणालीलाई थप कडा बनाइनेछ । मतदान स्थलसम्मको पहुँच व्यवस्थापन, आकस्मिक अवस्थाका लागि तत्काल प्रतिकार्य गर्ने टोली तथा आवश्यक समन्वय संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ । 

कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन कडा निगरानी रहने बताइएको छ । जिल्ला प्रसासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबिच एकीकृत सुरक्षा संयन्त्र मार्फत समन्वयात्मक रुपमा काम भैरहेको छ । 

यस पटकको निर्वाचनका लागि जिल्लाभर ८ सय ७७ जना निर्वाचन प्रहरी, ४ सय भन्दा बढि नेपाल प्रहरी, आवश्यकताको आधारमा नेपाली सेना र सशस्त्र प्रहरी गरि २ हजार भन्दा बढि सुरक्षाकर्मी खटाईने छ ।

विगतका निर्वाचनहरुलाई आधार मान्ने हो ओखलढुंगाका केहि स्थानमा छिटपुट घटना बाहेक सौहार्दपुर्ण बातावारणमा निर्वाचन सम्पन्न हुँदै आएको छ । 

कुल १ लाख २२ हजार ७ सय १५ मतदाता रहेको ओखलढुंगामा प्रशासनले सबै मतदातालाई कुनै भय वा दबाब बिना मतदानमा सहभागी हुन आग्रह गरेको छ । विगतका निर्वाचनहरूमा केही छिटपुट घटनाहरू देखिएपनि समग्र रूपमा ओखलढुंगामा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुँदै आएको छ । 

यसपटक मतदान स्थलको संवेदनशीलता अनुसार गरिएको वर्गीकरण, सुरक्षा अनुगमन र पूर्वतयारीले जिल्लामा पुनः शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित निर्वाचन सम्पन्न हुने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update