कास्की । शिवरात्रिमा प्रायः गरी शिवका भक्तहरूले प्रसादका रूपमा उखु चढाउने तथा उखु पड्काउने र खाने प्रचलन छ । शिवशक्ति पिठमा स्नान गरेर शिवरात्रीमा रातभर भजनकीर्तन गर्ने, धुनी बालेर शिवको पूजाआराधना गर्ने र उखु पोलेर पड्काउने चलन छ । यसरी पड्काइएको उखुलाई शिवजीको प्रसादको रूपमा खाने गरिन्छ ।
पछिल्ला वर्षहरुमा महाशिवरात्रीलाई केन्द्रीत गरेर पोखरामा उखुको कारोवार बढेको छ । उखुको बढ्दो बजारीकरणका कारण किसान पनि सन्तुष्ट देखिन्छन् । पोखरामा गोरखाको च्याङ्लीबाट बढि मात्रामा उखु आउने गर्छ ।
समयमा वर्षात नहुदाँ उखुको उत्पादन राम्रो नभएको कारण यसको असर भने बजारमा देखिएको छ । अर्को तर्फ तराइका जिल्लाबाट उखु नआएकाले पोखरामा उखुको मुल्य बढेको छ ।
कृषि थोक बजार केन्द्र पोखरामा ५५ सय बिटा उखु भित्रिएको छ । यो मध्ये धादिङबाट १ सय ४० बिटा उखु आएको छ भने बाकीँ सबै गोरखाको च्याङ्लीबाट आएको थोक बजार केन्द्रले जनाएको छ ।
उखुको गुणस्तर अनुसार एक बिटाको ६ सययदेखि १४ सय रुपैया सम्ममा विक्री भएको व्यवसायी बताउछन् । खान योग्य उखुको एउटा लाक्राको होलसेल मुल्य नै एक सय भन्दा बढि पर्न गएको छ ।
गोरखाबाट केही किसान उखु विक्रीका लागि आपैm आएका छन् । केही व्यापारीले पनि गोरखाबाटै उखु ल्याएर बिक्री गरेका छन् ।
किसानको वारीबाट ३०÷३५ रुपैया प्रति लाक्रा खरिद गर्ने गरेको उखु ढुवानी र निकासी कर तिर्नुपरेका कारण लागत बढ्ने गरेको व्यवसायी बताउछन् ।
बजारमा उखु कम आएकाले उपभोक्ताले भने एउटा उखुको २ सय रुपैयासम्म तिर्नुपर्ने भएको छ । आयात कम हुँदा बजारमा उखुको अभाव खड्कीएको छ । पोखरामा सुनसरी, झापा, मकवानपुर, धादिङ र गोरखाबाट उखु आउने गरेकोमा केही वर्ष यता गोरखा र थोरै मात्रामा धादिङबाट मात्रै उखु आउने गरेको व्यवसायी बताउछन् ।
शिवरात्रीको अवसरमा साँझदेखि देशका विभिन्न ठाउँका शिवमन्दिर एवं चौतारा तथा चोकमा धुनी लगाउने र उखु पड्काउने तथा उखु खाने प्रचलन रहेको छ ।
