धनुषा । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्र बुधबार मधेस प्रदेशका राजधानी जनकपुरधामबाट सार्वजनिक गरेको छ । पार्टी सभापति गगनकुमार थापाले जनकपुरबाट प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् । कांग्रेसले मधेश प्रदेशको राजधानी जनकपुरधामबाट मुलुकमा सुशासन र समुन्नति कायम गर्ने उद्देश्यसहित थापाले आफ्नो १० बुँदे विस्तृत भिजन पनि अघि सारेका छन् ।
नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गरि चुनावी प्रतिज्ञा पत्र मधेस प्रदेशको राजधानीबाट सार्वजनिक गरेको छ ।
बुधवार आयोजित चुनावी सभाबाट कांग्रेसले प्रतिज्ञा पत्र सार्वजिनक गर्नुका साथै पार्टी सभापति गगान थापाले ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने मूल नाराका साथ १० बुँदे भिजन पनि सार्वजनिक गरेका छन् । भिजनमा कांग्रेस पार्टीले आगामी पाँच वर्षभित्र हासिल गर्ने लक्ष्यहरू र ‘बदलियो कांग्रेस, बदलिन्छ देश’ भन्ने उद्घोषका साथ नागरिकको जीवनस्तर उकास्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
चुनावी भिजन नाम दिएको घोषणापत्र सार्वजनिक गर्दै सभापति थापाले अब नकाब लगाएर कसैले पनि सिंहदरबार जलाउने नपाउने उद्घोष गरे् । साथै भदौ २३ मा जसरी युवा पनि राज्यको गोलीले नमारिने पनि उनको प्रतिज्ञा छ ।
त्यस्तै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले अहिलेको प्रश्न सरकार कसले बनाउँछ भन्ने भन्दा पनि देश कसले बचाउँछ भन्ने रहेको बताएका छन् । पार्टीको निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका उपसभापति शर्माले अहिलेको मूल प्रश्न देश र व्यवस्था कसले बचाउँछ भन्ने रहेको उल्लेख गरे ।
जेनजीले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्न नसके, अहिले जेनजीको नेतृत्वमा विद्रोह भए जस्तै १० वर्षपछि अल्फाको नेतृत्वको विद्रोह हुने शर्माले चेतावनी दिए । आफू नबदलिए देश बदल्न नसकिने भन्दै कांग्रेसले विशेष महाधिवेशनबाट नेतृत्व बदलेको शर्माको भनार्य छ ।
हैरानीमुक्त प्रशासनिक सेवा प्रवाहको संकल्प, मधेसीलाई सेना प्रमुख
नेपाली कांग्रेसले विधिको शासनलाई कडाइका साथ लागू गर्दै सत्ता र शक्तिको पहुँचका भरमा पाइने विशेषाधिकार अन्त्य गर्ने र बेथिति तथा हैरानीमुक्त प्रशासनिक सेवा प्रवाह गर्ने संकल्प गरेको छ ।
आर्थिक समृद्धिका सन्दर्भमा कांग्रेसले निजी क्षेत्रको प्रवद्र्धन र सम्पत्ति सिर्जनालाई प्रोत्साहन गर्ने नीति अघि सारेको छ । स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवाहरूले नेपालमै भविष्य देख्न सक्ने वातावरण बनाउने र विदेश पलायन रोक्ने रणनीति दस्तावेजमा समेटिएको छ ।
प्रतिज्ञा पत्र सार्वजनिक गर्ने क्रममा कांग्रेस सभापति थापाले मधेसी समुदायबाट सेना प्रमुख बनाउने समेत आश्वासन दिएका छन् ।
कृषिलाई मर्यादित पेशाको रुपमा विकास गरिने
कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञा पत्रमा कृषिलाई मर्यादित पेसाको रूपमा विकास गर्दै ‘पेटभरी खुवाउने र देशलाई चिनाउने’ किसानको नेपाल बनाउन प्रविधि र बजारको उचित व्यवस्थापन गर्ने उल्लेख गरेको छ । साथै, पर्यटन, ऊर्जा र पूर्वाधारको विकासमार्फत समुन्नतिको बाटोमा लम्कने नेपालको चित्र प्रस्तुत गरिएको छ । आधारभूत सेवा सुविधातर्फ शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व बढाउने प्रतिबद्धता जनाइएको छ ।
‘ओखती र ओत दिने नेपाल’ को परिकल्पना गर्दै उपचारकै कारण कोही पनि गरिब हुनु नपर्ने र गुणस्तरीय स्वास्थ्य बीमा प्रणाली लागू गर्ने जनाइएको छ ।
त्यस्तै, छोराछोरी पढाउन अभिभावकमाथि आर्थिक भार नपर्ने गरी गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्ने र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ । नेपालको मौलिक विविधता, भाषा, संस्कृति र सम्पदामा गर्व गर्दै आधुनिकतालाई समेत आत्मसाथ गर्ने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको स्वाभिमान उच्च राख्ने विदेश नीति अवलम्बन गरिने कुरालाई भिजनमा समेटिएको छ ।
