कास्की । पोखराको फेवातालका डुंगा चालकहरुलाई आकष्मिकरुपमा मादक पदार्थ र लागु पदार्थ सेवन गरे नगरेको जाँच गरिएको छ । आन्तरिक र बाह्य पर्यटकका संख्या बढ्दै गएको बेला प्रहरीले आकस्मिक रूपमा मापसे र गापसेको छड्के जाँच गरेको हो । पर्यटक तथा यात्रुको सुरक्षाको लागि र कुनै अप्रिय घटना नघटोस् भन्नका लागि शनिबार ४५ बढी डुंगा चालकलाई छड्के जाँच गरिएकोमा एक जना मापसे र चारजनाले गापसे गरेको भेटिएको छ ।
पोखराको फेवातालमा समय समयमा डुङ्गा दुर्घटना हुँदा मानवीय क्षतिसमेत हुने गरेको छ । सम्भावित दुर्घटना रोक्न डुङ्गा चालकको मादक पदार्थ सेवन (मापसे) र गाँजा पदार्थ सेवन (गापसे) को छड्के जाँच गरिएको छ ।
सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको समन्वयमा बाराही घाटमा रहेका डुङ्गा चालकहरुलाई मापसे र गापसे जाँच गरिएको हो । डुङ्गा चलाइरहेका ४५ बढी चालकको जाँच गरिएकोमा एक जनाले मापसे गरेको र ४ जनाले गापसे गरेको पाइएको छ । उनीहरुलाइ प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ भने अन्य चालकहरूलाई सचेत समेत गराइएको छ ।
पोखरामा आउने धेरै पर्यटकले फेवातालमा बोटिङ गर्ने गर्दा डुङ्गा चालकले लापरवाहीपूर्वक बोटिङ गरेको, यात्रुहरूसँग राम्रो व्यवहार नगरेको भन्ने लगायतका गुनासो प्रहरीकोमा पुगेपछि छड्के जाँच गरिएको हो ।
डुङ्गा चालकले लापरबाही गर्दा यहाँ आउने पर्यटकमा नकारात्मक सन्देश समेत प्रवाह हुने भएकोले यसतर्फ सतर्क हुन आवश्यक रहेको सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुली बताउँछन् ।
फेवातालमा करिब ७ सय ८० वटा डुङ्गा रहेकोमा बाराहीघाटमा मात्र ३ सय ५६ डुंगा छन् भने फेवातालमा झण्डै ३ सयको हाराहारीमा डुङ्गा चालक छन् । फेवातालमा बढ्दो पर्यटक चापसँगै सुरक्षाको विषय संवेदनशील बन्दै गइरहेको छ ।
सम्भावित दुर्घटना रोक्न र पर्यटकलाई सुरक्षित अनुभूति गराउन सामुदायिक सेवा र प्रहरीले थालेको मापसे–गापसेको छड्के अभियानलाई निरन्तरता दिने जनाएको छ । पोखराका तालहरुमा डुंगा चालकहरुलाई सचेतना र कारबाही दुवैलाई सँगसँगै अघि बढाउँदै चालकलाई जिम्मेवार बनाउन आवश्यक देखिएको छ ।
