News 24 Television
प्रमुख तीन दलका लागि चुनौति बने महाविर

काठमाडौं । एक नगरपालिका र पाँच गाउँपालिका सहित छ स्थानीय तह रहेको हिमाली जिल्ला म्याग्दीमा आगामी फागुन २१ गतेको निर्वाचनका लागि ८६ हजार ३ सय ९७ मतदाता रहेका छन् । निर्वाचन कार्यालयको तथ्यांक अनुसार जिल्लामा दल र स्वतन्त्र गरेर १२ जनाको उम्मेदवारी छ । यद्यपी कांग्रेस, एमाले र नेकपाका उम्मेदवारहरुबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । यद्यपी प्रमुख ३ दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार महावीर पुनले चुनौति दिने देखिएको छ । 

गत स्थानीयतहको निर्वाचनमा ६ स्थानीय तह मध्ये ४ स्थानीयतहको प्रमुख पदमा नेकपा एमालेले जित हाँसिल गरेको थियो । संगठन र स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मान्दा म्याग्दीमा एमाले बलियो छ । तर गठबन्धनका कारण २०७९ सालमा भएको एमालेले प्रदेश र संघमा जित हासिल गर्न सकेन । यो निर्वाचनमा एमालेबाट हरिकृष्ण श्रेष्ठ, कांग्रेसबाट के.बि भण्डारी र नेपाली कम्युनिष्ट पार्टीबाट अर्जुन थापा उम्मेदवार छन् । 

प्रमुख ३ दलका उम्मेदवारहरुले आ–आफ्नै जित दाबी गरिरहँदा सुशीला कार्की नेतृत्वको चुनावी सरकार छाडेर स्वतन्त्र रुपमा प्रतिष्पर्धामा उत्रिएका महावीर पुन चुनौति बनेका छन् । 

हेरौं कसको कति सम्भावना ? 

महाविर पुन, स्वतन्त्र उम्मेदवार 

पूर्व शिक्षा मन्त्री रहेका महाविर पुन म्याग्दीबाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र रुपमा उम्मेदवार छन् । पुनले चुनावी अभियानमा गाउँ गाउँमा पुगेर मतदातासँग गरेको कुराकानी सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । 

यहि आधारमा कतिपयले पुनको जित निश्चित भएको ठोकुवा गर्ने गरेका छन् । मगर बाहुल्य म्याग्दी जिल्लामा पुन एक जना मात्रै मगर समुदायबाट उम्मेदवार छन् । पुनलाई जिताउन विदेशमा रहेका म्याग्देलीहरुले उत्तिकै सहयोग गरिरहेका छन् । पुनलाई म्याग्देलीहरुले आर्थिक रुपमा समेत सहयोग गरेको उनी आफैले बताएका छन् । 

म्याग्दीका अधिकांश परिवारका सदस्यहरु विदेशमा छन् । विदेशमा रहेकाहरुले परिवारका सदस्यहरुलाई पुनलाई जिताउन दबाब दिइरहेका छन् ।  

हरिकृष्ण श्रेष्ठ, एमाले उम्मेदवार 

नेकपा एमालेबाट म्याग्दीमा उम्मेदवार रहेका हरिकृष्ण श्रेष्ठ जिल्लामा लामो समयदेखि सामाजिक कार्यमा संलग्न भएका र इमान्दार नेताका रुपमा जिल्ला भित्र छबि बनाएका ब्यक्ति हुन् । 

२०६४ सालमा माओवादीले निर्वाचन जितेपनि २०७० सालमा उनै हरिकृष्ण श्रेष्ठ पार्टी अध्यक्ष हुदाँ अहिले एमाले गण्डकी प्रदेश अध्यक्ष रहेका नवराज शर्मालाई संविधान सभा सदस्यमा जिताएका थिए । श्रेष्ठले निर्माण गरेको संगठन नै शर्माको जितको आधार बनाएको चर्चा एमाले म्याग्दीमा चल्ने गरेको थियो । जिल्लाका ६ मध्ये ४ स्थानीयतहका प्रमुख एमालेकै छन् । श्रेष्ठले टिकट लैजाँदा एमाले म्याग्दीमा कुनै विवाद उत्पन्न नहुले पनि श्रेष्ठ बलियो मान्न सकिन्छ ।  

केबी भण्डारी, कांग्रेस उम्मेदवार 

नेपाली कांग्रेसबाट उम्मेदवार रहेका केबी भण्डारी कांग्रेस म्याग्दीका उप–सभापति हुन् । उनको घर म्याग्दीको रघुगंगा गाउँपालिका २ राखुमा पर्छ । जिल्लाकै सबै भन्दा बढी जनसंख्या रहेको राखुबाट भण्डारीको पक्षमा धेरै मत खस्ने दाबी कांग्रेसको छ । दग्नाम र कुईने मंगले कांग्रेसको एक छापे क्षेत्र हो । नयाँ नेतृत्वमा कांग्रेस गएकाले पनि राम्रो साथ हुने कांग्रेस म्याग्दीको दाबी छ ।

अर्जुन थापा, नेकपा उम्मेदवार

नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार रहेका अर्जुन थापा अस्थायी रुपमा काठमाडौंमा बसोबास गर्दै आएका छन् । काठमाडौंमा रहदाँ जिल्लाबाट आउने बिरामीहरुको उपचारमा सहजिकरण गर्ने गरेकाले जिल्लाका मतदाताहरु माझ उनी लोकप्रिय छन् । 

नेकपाबाट प्रदेश सांसद रहेका सुबिन जुग्जाली मगर प्रदेशमा मन्त्री हुदाँ म्याग्दीको बिकाशमा अत्याधिक बजेट जिल्लामा ल्याएका कारण आफुहरुलाई जिल्लाका जनताले बिकाश गर्ने पार्टीका रुपमा हेर्ने गरेको र थापालाई समेत मतदान गर्ने नेकपाका नेताहरु दाबी गर्छन् । थापा म्याग्दीको पश्चिम भेगमा रहेको ताकमधारापानीका स्थानीय हुन् । त्यहाँ पनि मतदाता संख्या अन्य वडाको तुलनामा धेरै छ । 

जित्नलाई कति मत आवश्यक ? 

खास गरी ४ उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने भएकाले यसपटक म्याग्दीमा निर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याउन उम्मेदवारहरुले १७ हजार भन्दा बढी मत ल्याउनु पर्ने देखिन्छ । ८६ हजार ३ सय ९७ मत रहेकोमा बढीमा ६० हजार मत खस्ने राजनीतिक दल र उम्मेदवारहरु बताउँछन् । 

म्याग्दीको निर्वाचनमा प्रभाव पार्ने शक्ति कुन कुन छन् ?

विगतका निर्वाचन बहिष्कार गर्दै आएको विप्लव नेतृत्वको नेकपा माओवादीले यो चुनावमा सहभागिता जनाएको छ । विगतमा बहिष्कार गरे पनि विप्लव समूहको भोटले निर्वाचनलाई प्रभाव पार्ने गरेको थियो । 

म्याग्दीबाट प्रवासमा बस्ने म्याग्देलीहरुको साझा संस्थाको रुपमा रहेको म्याग्दी प्रवासी नेपाली संघ मोना नामक संस्था छ । यो संस्थाको नेतृत्व तहमा रहेकाहरु विगतका निर्वाचनमा निश्क्रिय हुने गरेकोमा यस पटक कस्तो भूमिका खेल्छन् हेर्न बाँकी छ । म्याग्दीमा जाती विशेषका संघ संस्थाहरुले पनि चुनावमा प्रभाव पार्नेछ । 

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update