News 24 Television
अर्बपति विनोद चौधरीलाई विक्रम र हृदयेशको डर

नवलपरासी । पश्चिम नवलपरासी क्षेत्र नं. १ को निर्वाचन निकै रोचक छ । कांग्रेसबाट अर्बपती विनोद चौधरीदेखि कांग्रेस छाडेर रास्वपाबाट विक्रम खनाल चुनावी मैदानमा होमिएका छन् । खनाल काँग्रेस लुम्विनी प्रदेशका पूर्व महामन्त्रीसमेत हुन् । यो क्षेत्रमा खासगरी चौधरी र खनालबीचको प्रतिष्पर्धाका साथै मधेसका चतुर खेलाडी हृदयेस त्रिपाठीबीच त्रिपक्षीय भिडन्त हुने देखिएको छ । 

पश्चिम नवलपरासी क्षेत्र नं. १ काग्रेसका उम्मेदवार चौधरी उद्योगका मालिक विनोद चौधरी अघिल्लो निर्वाचनको विरासत जोगाउने योजना छन् । तर उनलाई कांग्रेसबाट टिकट नपाएर रास्वपा प्रवेश गरेका विक्रम खनाल कडा प्रतिष्पर्धीका रुपमा खडा भएका छन् ।

यस्तै, जसपा नेपालबाट मधेसका चतुर खेलडी हृदयेश त्रिपाठी र एमालेबाट रामप्रसाद पाण्डे चुनावी प्रतिष्पर्धामा छन् । कहिले एमाले त कहिले कांग्रेसको समानुपातिक सुचीबाट संसद छिरेका चौधरीले ७९ सालको चुनावमा भने यहि क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएका थिए । 

देउवाका विश्वासपात्र मानिने गरेका चौधरी यो पटक भने कांग्रेसको विशेष महाधिवेशनमा सहभागी भई गगन पक्षमा देखिएका हुन् । चौधरीको चुनावी प्रचार शैली पनि रोचक छ । अघिल्लो निर्वाचनमा गरेका आश्वासन पूरा गर्ने प्रतिवद्धता जनाउँदै चौधरी मतदातालाई आकर्षित गरिरहेका छन् । 

नेपाली कांग्रेस भित्र पटक पटक आन्तरिक गुटबन्दीको शिकार हुने यो क्षेत्रको नियति नै हुने गरेको छ । आफ्नै पार्टीका उम्मेदवारलाई हराउन पार्टीकै नेताहरु बागी उम्मेदवार बन्ने गरेका थिए । 

आफ्नै पार्टीका उम्मेदरविरुद्ध अन्तरघात गरेको भन्दै कांंग्रेसको कारबाहीमा समेत परेका विक्रम खनाल अहिले रास्वपाबाट चौधरीविरुद्ध उम्मेदवारी दिएका छन् । कांग्रेसबाट संविधानसभा सदस्य निर्वाचित खनाल यसअघि कांग्रेसको प्रदेश महामन्त्री थिए । उनी अहिले भ्रष्टाचारविरोधी अभियन्ता भन्दै मतदातामाझ प्रस्तुत हुने गरेका छन् ।  

पहिलो पटक २०४८ सालमा नवलपरासीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका त्रिपाठी यस पटक जसपा नेपालको टिकट लिएर उम्मेदवार छन् । लामो चुनावी अनुभव भएका त्रिपाठीले ५ पटक चुनाव जितेका छन् भने २ पटक हारेका छन् । अहिले भने उनले विगतमा लेखा समितिमा रहेर ठूला भ्रष्टाचारका काण्डहरु पर्दाफास गरेको भन्दै सुशासनलाई आफ्नो चुनावी एजेण्डा बनाएका छन् । 

एमालेबाट सुस्ता गाँऊपालिका प्रमुुख भइसकेका रामप्रसाद पाण्डे पहिले एमालेबाटै यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । छोटो समयमा सूस्ता क्षेत्रमा उल्लेखनीय विकास निर्माणको काम गरेको भन्दै पाण्डेले राष्ट्रपतिबाट सम्मान थापेका थिए । पालिका अध्यक्ष हुँदा गरेको कामकै कारण आफूले सांसदको चुनाव जित्ने एमाले उम्मेदवार पाण्डेको दाबी छ । 

किसानका बारीदेखि झपडीका चिया पसलसमेत पुगेर आफ्नो ७९ को साख जोगाउन लागिपरेका चौधरीलाई कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका खनालको निकै डर छ । 

४८ सालदेखिकै आफ्नो पकड क्षेत्र बनाएका त्रिपाठी पनि यहि क्षेत्रका प्रतिष्पर्धी भएकाले खासगरी यो क्षेत्रमा त्रिपक्षीय भिडन्त हुने निश्चित छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update