ओखलढुङ्गा । ओखलढुंगामा निर्वाचन तयारी थप तिब्र पार्दै संस्थागत कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । मतदान प्रक्रियालाई व्यवस्थित, सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यसहित कर्मचारी तालिमदेखि सुरक्षा परिचालन रणनीतिसम्मका सम्पूर्ण प्राविधिक र व्यवस्थापकीय पक्षलाई अन्तिम रूप दिने कामलाई तिव्रता दिइएको छ ।
ओखलढुंगामा निर्वाचनको तयारी अहिले व्यवहारिक चरणमा प्रवेश गरिसकेको छ । प्रत्यक्ष रूपमा मतदान प्रक्रियामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई लक्षित गरी तालिम सञ्चालन भइरहेको छ । तर तयारी केवल तालिममै सीमित छैन ।
समग्र निर्वाचन व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्लाभर रहेका १५७ मतदान केन्द्र र ८४ मतदान स्थलका लागि जनशक्ति परिचालनको स्पष्ट ढाँचा तयार पारिएको छ । यसपटक निर्वाचन सञ्चालनका लागि एक हजारभन्दा बढी कर्मचारी खटाइने भएका छन ।
प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ३ जना सहायक कर्मचारी र १ जना सहयोगी कर्मचारी गरी न्यूनतम ६ जनाको टोली परिचालन गरिने व्यवस्था गरिएको छ । उनीहरुलाई निष्पक्षता, संयमता र जिम्मेवारीका साथ काम गर्नुपर्छ भन्ने सुझाव समेत दिइएको छ ।
एक मात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा कुल १ लाख २२ हजार ७ सय १५ मतदाता छन् । निर्वाचन सम्पन्न गर्न आवश्यक मतपेटिका, मतपत्र लगायतका सामग्री भने यसअघि नै जिल्लामा आईसकेको छ ।
अहिले ती सामग्रीको वर्गीकरण, अभिलेखीकरण र मतदान केन्द्रअनुसार वितरण तयारीको काम अघि बढाइएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम सम्पन्न भएसँगै उनीहरूकै जिम्मेवारीमा सम्बन्धित मतदान स्थलसम्म सामग्री सुरक्षित रूपमा पु¥याउने तयारी छ । निर्वाचन व्यवस्थापनलाई प्रभावकारी बनाउन जनशक्ति परिचालन, सामग्री व्यवस्थापन र मतदान प्रक्रिया सञ्चालनका पक्षलाई ससमन्वय गरि अघि बढाइएको छ ।
प्राविधिक तथा प्रशासनिक तयारीलाई सन्तुलित बनाउँदै निर्वाचनलाई सहज, व्यवस्थित र विश्वासयोग्य बनाउने लक्ष्य राखिएको छ । यसैबीच, निर्वाचनको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै समग्र सुरक्षा रणनीति पनि अन्तिम चरणमा पुगेको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा निर्वाचन निर्वाचन प्रहरी समेत गरि २ हजार भन्दा बढि सुरक्षाकर्मी खटिनेछन् । मतदान स्थलको अवस्था र पहुँचका आधारमा सुरक्षा व्यवस्थापनलाई वर्गीकरण गर्दै परिचालन गर्ने योजना बनाइएको छ ।
समग्र तयारी अन्तिम चरणमा पुगेसँगै अब ओखलढुंगामा ध्यान कार्यान्वयनतर्फ केन्द्रित भएको छ । प्रशासनिक संयन्त्र, निर्वाचन व्यवस्थापन संरचना र सुरक्षा निकायबीचको समन्वयलाई प्रभावकारी बनाउँदै निर्वाचनलाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने लक्ष्य जिल्ला निर्वाचन कार्यालयले लिएको छ ।
