दैलेख । आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै दैलेखमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्बाचन अधिकृतको कार्यालय दैलेखले जनाएको छ । प्रशासन, सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी निर्वाचन व्यवस्थापन कार्य अन्तिम चरणमा पु¥याइएको निर्वाचन कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन कार्यालय दैलेखका अनुसार जिल्लाभर धेरैजसो मतदान स्थलहरूको अनुगमन सम्पन्न भइसकेको छ । मतदान अधिकृत तथा सहायक कर्मचारीका लागि तालिम सञ्चालन गरी मतदान प्रक्रिया, मतपेटिका व्यवस्थापन सम्बन्धी निर्देशन दिइएको छ ।
दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा विभिन्न ९ राजनीतिक दल र ३ स्वतन्त्र उम्मेदवार गरी २१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । १ नम्बर निर्वाचन क्षेत्रमा ३९ हजार ८२४ पुरुष र ३९ हजार ८७७ महिला गरी जम्मा ७९ हजार ७०१ मतदाता छन् भने २ नम्बर क्षेत्रमा ४१ हजार २७५ पुरुष र ४० हजार २८८ महिला गरी कुल ८१ हजार ५६३ मतदाता छन् ।
१ नम्बर निर्वाचन क्षेत्रमा ७३ मतदान स्थल र १०४ मतदान केन्द्र र दुई वटा अस्थाई मतदान केन्द्र कायम गरिएको छ । यो क्षेत्रमा १०६ मतदान अधिकृत, १०६ सहायक मतदान अधिकृत, ३१२ सहायक कर्मचारी र १०६ जना कार्यालय सहयोगी रहेका छन् । यस्तै, क्षेत्र न. २ मा ६६ मतदान स्थलमा १०४ मतदान केन्द्र रहेको निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो क्षेत्रमा १०४ मतदान अधिकृत, १०४ सहायक मतदान अधिकृत, ३१२ सहायक कर्मचारी र १०४ कार्यालय सहयोगी नियुक्ति गरि खटाईएको निर्बाचन कार्यालयले जानकारी दिएको छ । संवेदनशील र अतिसंवेदनशील केन्द्रहरूमा सुरक्षा युनिट स्थापना गरिसकिएको छ भने मतदान स्थलहरुको अनुगमन पनि भइसकेका छन् ।
संवेदनशील र अतिसंवेदनशील केन्द्रहरूमा अतिरिक्त सुरक्षा बल परिचालन गरिने छ । दुवै निर्वाचन क्षेत्रमा मतपत्र लगायतका निर्बाचन सामाग्री पुगिसकेको र २ दिन भित्र वितरण हुने जिल्ला निर्बाचन कार्यालयले जनाएका छ ।
शान्तिपूर्ण र सौहार्दपूर्ण रुपमा चुनावी प्रचारप्रसार गतिविधि गरिरहेका राजनीतिक दल र उम्मेदवारहरूबाट दैलेखमा अहिलेसम्म आचारसंहिता उलंघनका उजुरीहरु नपरेको निर्वाचन कार्यालयले जनाएको छ । प्रशासन र सुरक्षा निकायले मतदातालाई निर्भयका साथ मतदानमाम भाग लिन आग्रह गरेका छन् ।
