News 24 Television
ओखलढुंगामा अझै सनसनी, रास्वपा उम्मेदवार ५ मतले विजयी

ओखलढुङगा । लामो समयसम्म पुराना दलहरूको वर्चस्व कायम रहँदै आएको ओखलढुंगाको राजनीतिक समीकरण यस पटकको निर्वाचनले नयाँ मोडमा पुगेको छ । कुनै बेला कांग्रेसको किल्ला भनेर चिनिने यो जिल्ला यसपटक कांग्रेसको हातबाट खोसिएको छ । 

स्थापित दलहरूको बलियो पकड तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्याशित रूपमा बाजी मार्दा जिल्लाको राजनीतिक धरातलमा नयाँ बहस र अपेक्षाको ढोका खुलेको छ । मतगणनाको अन्तिम परिणामसँगै ओखलढुंगामा केवल विजेता मात्र बदलिएको छैन, मतदाताको सोच र प्राथमिकतामा पनि परिवर्तनको संकेत देखिएको छ ।zप्रतिनिधि सभाको यस पटकको निर्वाचनमा ओखलढुंगामा दुई वटा विषय विशेष रूपमा चर्चामा रहे । पहिलो, जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ सातसल्लेका मतदाताले प्रादेशिक अस्पताल निर्माण नभएको भन्दै मतदान नै बहिष्कार गरे । 

स्थानीयको बहिष्कारका कारण मतदान केन्द्रमा सर्वसाधारणको मत खसेन । अन्ततः समानुपातिकतर्फ निर्वाचनमा खटिएका कर्मचारीले मात्रै जम्मा चार मत खसालेर रित्तैजस्तै मतपेटिका मतगणना स्थलमा पठाए । 

दोस्रो, प्रत्यक्षतर्फको मतगणनाले देखाएको निकै रोचक प्रतिस्पर्धा । मतगणना सबैभन्दा पहिले जिल्लाको लिखु गाउँपालिकाबाट सुरु गरिएको थियो । जहाँ सुरुवाती चरणमा नेकपा एमालेकी उम्मेदवार अस्मिता थापा अग्रस्थानमा देखिएकी थिइन । तर मतगणना क्रमशः अगाडि बढ्दै जाँदा प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसबीच केन्द्रित हुँदै गयो । 

अन्तिम चरणमा चिशंखुगढी गाउँपालिकाको मतगणना सुरु हुँदा प्रतिस्पर्धा झन रोमाञ्चक बन्यो । यहाँका ८ वडामध्ये ६ वटा वडाको मतगणना सम्पन्न हुँदासम्म नेपाली कांग्रेस १७ मतले अगाडि थियो । 

सातौँ वडामा भने दुवै दलले समान ७०÷७० मत प्राप्त गरे । तर अन्तिम अर्थात आठौँ वडाको मतले नतिजा नै उल्टाइदियो । उक्त वडामा राष्ट्रिय स्वतन्त्र पार्टीले ११८ मत प्राप्त गर्दा कांग्रेसले ९६ मत मात्रै पायो । यही मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विश्वराज पोखरेल नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईँटेललाई ५ मतको झिनो अन्तरले पराजित गर्दै विजयी भए । 

यसरी निकै रोचक प्रतिस्पर्धा पछि झिनो मतान्तरले विजयी भएका पोखरेलले मतदाताको विश्वासलाई विकास र सुशासन मार्फत व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका छन् ।

ओखलढुंगाको यसपटकको निर्वाचन परिणामले केवल विजेता मात्र तय गरेन, मतदाताको बदलिँदो सोच पनि स्पष्ट पारेको छ । विशेषगरी पहिलो पटक मतदान गर्ने युवा मतदातामा परिवर्तनको अपेक्षा झन स्पष्ट देखिएको छ । यस पटकको निर्वाचनमा सहभागी भएका धेरै युवाले पुराना राजनीतिक अभ्यासभन्दा फरक शैली र कामको अपेक्षा राख्दै मतदान गरेको बताएका छन । 

ओखलढुंगामा यस पटकको निर्वाचनले केवल नयाँ प्रतिनिधि मात्रै चुनेको छैन, मतदाताको सोच र प्राथमिकतामा आएको परिवर्तन पनि उजागर गरेको छ । 

प्रत्यक्षतर्फ मात्रै होइन, समानुपातिकतर्फको मत परिणामले पनि यही संकेत दिएको छ । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी १७ हजार ६ सय ३९ मत प्राप्त गर्दै जिल्लाको राजनीतिक समीकरणमा नयाँ शक्तिप्रति बढ्दो समर्थन देखिएको छ । 

अब भने मतदाताले व्यक्त गरेको यही विश्वासलाई विकास र सुशासनमार्फत व्यवहारमा रूपान्तरण गर्न सकिन्छ कि सकिँदैन भन्ने परीक्षा निर्वाचित नेतृत्वका सामु रहेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update