कास्की । सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा विकको बलात्कारपछि भएको विभत्स हत्याले फेरि एकपटक राज्यको सुरक्षा संयन्त्र र न्याय प्रणालीमाथि प्रश्न ठडिएको छ ।
यसै घटनाको विरोधमा पोखराका विद्यार्थीहरू सडकमा उत्रिएका छन् । उनीहरुले सडक नाटक प्रदर्शन गर्दै सरकारलाई कडा आन्दोलनको चेतावनी समेत दिएका छन् ।
पोखरामा सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा विद्यार्थीहरू सडकमा उत्रिएका छन् । न्यायको माग गर्दै उनीहरूले भावुक सडक नाटक प्रस्तुत गर्दै सरकारमाथि दबाब सिर्जना गरे ।
देशभर महिलामाथि हुने हिंसा, बलात्कार तथा हत्या घटनाहरू बढ्दै गएको भन्दै विद्यार्थीहरु नै सडकमा उत्रिए । किशोरी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाले आक्रोशित बनेका युवाहरूले सडक नाटकमार्फत न्यायको माग गरेका हुन् ।
पृथ्वीनारायण क्याम्पसका विद्यार्थीहरूले प्रस्तुत गरेको नाटकमा पीडितको पीडा, समाजको मौनता र न्याय प्रणालीप्रतिको आक्रोश प्रष्ट देखिएको थियो । केही दिन अघि प्लेकार्डसहित सरकारको विरोध प्रदर्शन गरेका उनीहरुले अब पनि सरकार मौन बसे कडा आन्दोलनको ढोका खोलिने चेतावनी दिएका छन् ।
‘न्याय म¥यो र ’बलात्कारी राज्य’ भन्ने विम्वात्मक सन्देशसहित प्रस्तुत गरिएको नाटकले उपस्थित दर्शकहरूलाई भावुक बनाएको थियो ।
पछिल्लो समय महिलामाथी हुने हिंसा तथा बलात्कारका घटनाहरू बढ्दै जाँदा समाजमा असुरक्षा बढेको भन्दै विद्यार्थीहरूले निरन्तर दबाबमूलक कार्यक्रम गर्ने चेतावनी दिएका छन् । त्यसमाथी बलात्कार पछि हत्या गर्ने र दोषिले उन्मुक्ति पाउने प्रवित्ति बढेकाले पनि सडक नाटक मार्फत सरकारलाई दवाव दिन आवश्यक रहेको अभियन्ता सरस्वती पुरी बताउँछिन् ।
इनिशा विकमाथि भएको बलात्कारपछि हत्या घटनाले केवल एउटा परिवार मात्र होइन, सिंगो समाजलाई स्तब्ध बनाएको छ । पोखरामा विद्यार्थीहरूले प्रस्तुत गरेको सडक नाटकले यही पीडा, आक्रोश र न्यायप्रतिको आकांक्षालाई सशक्त रूपमा उजागर गरेको देखिन्छ ।
अब प्रश्न केवल इनिशा विकको न्यायमा सीमित छैन, यो सम्पूर्ण महिला सुरक्षाको सवाल बनेको छ । यदि समयमै प्रभावकारी कदम चालिएन भने, यस्तो आक्रोश अझ व्यापक आन्दोलनमा परिणत हुन सक्ने देखिन्छ ।
