News 24 Television
१५० घरधुरी अझै अन्धकार र सडकविहीन अवस्थामा

इलाम । इलामको चुलाचुली गाउँपालिका–६ स्थित फुङनाम बस्ती अझै पनि आधारभूत सेवासुविधाबाट वञ्चित छ । राज्य सञ्चालनमा देखिएको उपेक्षा र समन्वय अभावका कारण करिब १५० घरधुरी रहेको यो बस्तीका स्थानीय कष्टकर जीवन बिताउन बाध्य छन् । 

झापास्थित पूर्व–पश्चिम राजमार्गदेखि करिब १९ किलोमिटर उत्तरमा पर्ने फुङनाम बस्तीमा नेवारी समुदायको बाक्लो बसोबास छ । 

सामान्य खेतीपातीबाट जीविकोपार्जन गर्दै आएका यहाँका नागरिक सडक, विद्युत्, स्वास्थ्य, शिक्षा र सञ्चारजस्ता आधारभूत पूर्वाधारकै अभावमा छन् । चुलाचुली गाउँपालिका–६ को सबैभन्दा ठूलो समस्या सडकको अभाव हो । सडक नहुँदा साखफारा, दशमी र फुङनाम बस्तीका स्थानीय प्रत्यक्ष मारमा परेका छन् । नागरिकता लगायतका सामान्य सरकारी कामका लागि इलाम सदरमुकाम पुग्न उनीहरूले सिधा बाटो प्रयोग गर्न पाउँदैनन् । 

बाध्य भएर मोरङ हुँदै झापा भएर पुनः इलाम बजार पुग्नुपर्ने अवस्था छ । यसले समय र खर्च दुवै अत्यधिक बढाएको छ  । विद्यालय जान आउन पनि सडक अभावले घन्टौ पैदल हिडेर जानुपर्ने बाध्यता छ । 

त्यस्तै, विद्युत् सेवा विस्तारमा ढिलाइ हुँदा स्थानीयको दैनिकी थप कठिन बनेको छ । वर्षौँअघि विद्युत् पोल गाडिएपनि अहिलेसम्म लाइन विस्तार र मिटर जडान हुन सकेको छैन । 

स्थानीयले सामुहिक रूपमा एकजुट भई आफ्नै लगानीमा साँझ जसोतसो बत्ती बाल्ने गरेकोे छन् । दिनभरि बत्ती नहुँदा बालबालिकाको पढाइ प्रभावित भएको छ भने मोबाइल चार्ज गर्नसमेत समस्या हुने गरेको छ । स्वास्थ्य सेवा र सञ्चारमा पनि यसले असर पारेको छ ।

त्यस्तै यस क्षेत्रका बासिन्दाले पटक–पटक स्थानीय तह र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए पनि ठोस काम हुन नसकेको गुनासो गर्ने गरेका छन् । यता, चुलाचुली गाउँपालिका–६ का वडाध्यक्ष दिल कुमार राईले भने सडक र विद्युत् विस्तारमा केही प्रगति भइरहेको बताउँछन् । फुङनाम बस्ती विकट क्षेत्रमा रहेकाले काम गर्न चुनौती रहेको जनप्रतिनिधि बताउँछन् । 

भौगोलिक विकटता र राज्यको बेवास्ताका कारण फुङनाम बस्ती अझै विकासको मूलधारबाट टाढा छ । सडक, स्वास्थ्य र विद्युतजस्ता आधारभूत पूर्वाधारको अभावले यहाँका बासिन्दाको दैनिकी कष्टकर बनेको छ । सम्बन्धित निकायले समयमै चासो नदिए यस क्षेत्रको विकास अझै वर्षौँ पछि धकेलिने देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update