झापा । झापाको मेचीनगर–५ स्थित इलाका प्रहरी कार्यालय नकलबन्दाले अहिले जीर्ण संरचना, न्यून जनशक्ति र स्रोतसाधनको चरम अभाव झेलिरहेको छ । नेपाल–भारत सीमा सुरक्षाका लागि स्थापना गरिएको यो प्रहरी कार्यालय स्वयं असुरक्षित बन्दै गएको छ । जसका कारण सीमावर्ती संवेदनशील क्षेत्रमा सुरक्षा चुनौती थपिएको छ ।
झापाको मेचीनगर–५ मा २०३४ सालमा सिमाना प्रहरी चौकीको रूपमा स्थापना गरिएको कार्यालय चार वर्षअघि इलाका प्रहरी कार्यालयमा स्तरोन्नति गरिएको हो । तर संरचना, जनशक्ति र सुविधा नबढ्दा कार्यालय अझै चौकीस्तरमै सीमित छ ।
नियमित दरबन्दीअनुसार नकलबन्दा ईलाका प्रहरी कार्यालयमा २५ जना प्रहरी खटिनुपर्ने भए पनि हाल प्रहरी नायब निरीक्षकको नेतृत्वमा ८ जना मात्र प्रहरी कार्यरत छन् । यी थोरै संख्याका सुरक्षाकर्मीलाई अवैध ओसारपसार, लागुऔषध कारोबार, आपराधिक गतिविधि नियन्त्रण, सीमापार आवागमनजस्ता जटिल कार्यभार सम्हाल्नु परिरहेको छ । कार्यालयको कार्यक्षेत्र मेचीनगरका वडा नम्बर ५, ६ र ८ का केही भाग समेटिन्छन् ।
जसमा अधिकांश क्षेत्र भारतसँग सीमा जोडिएका छन् । यस्तो स्थानमा अपर्याप्त जनशक्ति र कमजोर भौतिक पूर्वाधारले सीमावर्ती सुरक्षा कमजोर बनाएको स्थानीयवासी बताउँछन् । कार्यालयको भवन पनि उस्तै जिर्ण छ । सीमावर्ती क्षेत्रको महत्व बुझेर राज्यले तत्काल ठोस कदम चाल्नुपर्ने स्थानीयको भनाइ छ ।
आवश्यकताको आधारमा सीमा प्रहरीका लागि नयाँ भवन निर्माण, जनशक्ति थप र उपकरण उपलब्ध गराउन स्थानीयले पनि बारम्बार माग गर्दै आएका छन् । तर, संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयको अभावमा अझै ठोस पहल नभएको स्थानीयको गुनासो छ । यो समस्या प्रहरीको मात्र नभई राज्यकै सुरक्षा संकटसँग जोडिएको सरोकारवालाहरु बताउँछन् ।
झापामा ७३ वटा स्थायी र अस्थायी प्रहरी युनिटहरू रहेका छन् । ती मध्य अधिकांश कार्यालय सुधार भइसकेको भएता पनि केही कार्यालय भवनहरु भने जीर्ण अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । जीर्ण प्रहरी कार्यालयहरूको अवस्थाबारे सम्बन्धित निकायलाई जानकारी गराइसकिएको उनको भनाई छ ।
पुरानो छोटी भन्सारको क्षेत्र नकलबन्दामा अहिले पनि करिब २ सय मिटरको दुरिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यालय छ तर, दुवै प्रहरी युनिटको भवन जिर्ण अवस्थामा रहेको छ । इलाका प्रहरी कार्यालय नकलबन्दा र सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट नकलबन्दा सुदूर पूर्वी सिमानाको महत्वपूर्ण सुरक्षा निकाय हुन् । भारतसँग खुला सीमाका कारण सो क्षेत्रमा लागुऔषध कारोबार, तस्करी र अवैध आवतजावतजस्ता चुनौती छन् ।
