News 24 Television
दोलखाका पर्यटकीय र धार्मिक क्षेत्र घुमे अशक्तहरु

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका २ मा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूमा अपाङ्गता भएका व्यक्तिहरूको एक विशेष अवलोकन भ्रमण गरिएको छ । यो भ्रमणले अपाङ्गता भएका व्यक्तिहरूलाई ऐतिहासिक धरोहरको अवलोकन गराउनुको साथै स्थानीय पर्यटन विकासमा उनीहरूको पहुँच र अनुभवलाई पनि समेटेको छ ।  

बागमती प्रदेश सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको समन्वयमा आयोजित “अपाङ्गता मैत्री पर्यटन प्रवद्र्धन सम्बन्धी अभिमुखीकरण कार्यक्रम” अन्तर्गत मञ्जुश्री पाइला, दोलखा भीमेश्वर मन्दिर, चम्पुजा पार्क र त्रिपुरा सुन्दरी मन्दिरमा अपाङ्गता प्रयोगात्मक भ्रमण गरिएको हो । 

भ्रमणमा अपाङ्गता भएका व्यक्तिहरू, पर्यटन व्यवसायी, स्थानीय तहका प्रतिनिधि, मन्दिर व्यवस्थापन समिति र अन्य सरोकारवालाहरूको सहभागिता थियो । अवलोकनका क्रममा सहभागीहरूले पर्यटकीय क्षेत्रमा विद्यमान भौतिक संरचनामा सुधारको आवश्यकता रहेको औंल्याए । उनीहरूले शारीरिक अवस्था अनुसार रेलिङको व्यवस्था भए मात्रै पनि धेरै सहज हुने बताए ।

भ्रमणका क्रममा स्पर्श, ध्वनि र साथीहरूको वर्णनमार्फत फरक अनुभूति लिन सकेको बताए  । अबका दिनमा नीति निर्माण र पूर्वाधार विकासमा अपाङ्गमैत्री अवधारणालाई अनिवार्य रूपमा समेट्नुपर्नेमा सरोकारवालाले जोड दिए । 

समग्र निष्कर्षमा दोलखाका पर्यटकीय स्थलहरूलाई सुधार गरी अपाङ्गमैत्री बनाउन सके बागमति प्रदेश भित्रका जिल्लाहरु मध्ये दोलखा  अपाङ्गता भएका व्यक्तिहरूलाई पनि सहज रूपमा घुम्न, रमाउन र धार्मिक स्थलमा दर्शन गर्न वातावरण सिर्जना हुने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १९, २०८३  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update