News 24 Television
आफ्नै भवन नहुँदा ट्राफिक प्रहरीलाई ठूलै सास्ती !

इलाम । इलाममा जिल्ला ट्राफिक प्रहरीको आफ्नै भवन नहुँदा कार्य सम्पादनमा समस्या देखिएको छ । वर्षौँदेखी भाडाको साँघुरो कोठाबाट कार्यालय सञ्चालन भइरहँदा नियम उल्लङ्घन गर्ने सवारी राख्न समेत जिल्ला प्रहरी कार्यालयमा पठाउनु पर्ने बाध्यता छ । 

इलाममा जिल्ला ट्राफिक प्रहरीको आफ्नो भवन नहुँदा कार्य सम्पादनमा समस्या भएको छ । ट्राफिक प्रहरीले भाडाको साँघु्रो कोठाबाट कार्यालय संञ्चालन गरेका छन् । 

कतिपय भारतीय सवारी रुट परमिट बिना नै नेपाल प्रवेश गर्ने गरेका छन् । भारतबाट नेपाल बिना अनुमती आएका, तथा भन्सार फेल भइ आएका सवारी राख्न समेत कठिनाई भएको ट्राफिक प्रहरी बताउँछ । कतिपय मोटरसाइकल तथा ठुला सवारीलाई समेत राख्नु परेमा पार्किङमा झन समस्या हुने गरेको छ । 

आवश्यक जग्गा अभावका कारण भवन निर्माण हुन सकेको छैन । कार्यालय सञ्चालनका लागि बजेट समेत नआउने गरेको बताइन्छ । हाल भाडाको कार्यालय रहेको इलाम जिरो प्वाइन्टका लागि समेत जिल्ला प्रहरी कार्यालय इलामले रकम बुझाउने गरेको छ ।

जग्गा प्राप्त भएमा भवन निर्माण हुने आश्वासन भएपनि जग्गा नै नभएर समस्या आएको ट्राफिक प्रहरीको भनाइ छ । छिमेकी जिल्ला पाँचथर, झापामा भने ट्राफिक प्रहरीको भवन भएपनि इलाममा भवन निर्माण हुन सकेको छैन । जग्गा खोजीका लागि सहयोग गरिदिन सरोकारवाला निकाय तथा स्थानीय सरकारसँग समेत जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update