News 24 Television
काठमाडौँको तरंग झापासम्म, सुकुम्बासी थर्कमान !

झापा । बालेन शाह नेतृत्वको सरकारले काठमाडौं महानगरपालिकामा सुकुम्बासी बस्ती हटाउने अभियान तीव्र बनाएसँगै यसको प्रभाव पूर्वी जिल्ला झापासम्म देखिन थालेको छ । वर्षौंदेखि जोतभोग गर्दै बसेको जग्गामा पनि सरकारले डोजर चलाउने तयारी गरेको आशंकामा झापाका सुकुम्बासी त्रसित बनेका छन् । 

सुकुम्बासी बस्तीमा डोजर लगाएर हटाउने अभियान तीव्र बनाएसँगै झापाका सुकुम्बासीहरू त्रसित बनेका छन् । वैकल्पिक व्यवस्थाविना विस्थापित गर्ने सरकारी सोचले जीवन झन् संकटमा पर्ने उनीहरूको बुझाइ छ । 

दशकौँदेखि यहीँ बसेर जीवन चलाएको तर राज्यले संरक्षण गर्नु पर्नेमा उल्टै डोजर लगाएर हटाउने कुरा आइरहेको भन्दै उनीहरु यतिबेला त्रसित छन् । सुकुम्बासी बस्ती हटाउने अभियानले देशव्यापी बहस सिर्जना गरिरहेको बेला प्रधानमन्त्री बालेन शाहको निर्वाचन क्षेत्र अन्तर्गत रहेको झापामा समेत स्थानीयहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले सरकारको निर्णयलाई ‘गरिबमाथि अन्याय’ भन्दै विरोध प्रदर्शन सुरु गरेका छन् । 

सरकारले विकासका नाममा गरिबलाई उठिबास लगाउने काम बन्द हुनुपर्ने सुकुम्बासीहरूको भनाइ छ । सुकुम्बासी समस्या हल गर्न सरकारले तदारुकता देखाउनुपर्ने मा उल्टै उठिबास गर्ने कार्य राम्रो नभएको स्थानीय सुकुम्बासी बताउँछन् । 

केन्द्रीय सरकारको निर्देशनमा हालसम्म झापामा औपचारिक रूपमा कुनै डोजर अभियान सञ्चालन भने भइसकेको छैन । तर, राजधानीमा भइरहेको गतिविधिले स्थानीयमा त्रास फैलिएको छ ।

हल्ला र त्रासकोबिच स्पष्ट नीति र वैकल्पिक व्यवस्था विना सुकुम्बासी हटाउने प्रयास गरे सामाजिक द्वन्द्व बढाउने खतरा रहन्छ । तसर्थ सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि दीर्घकालीन योजना ल्याउनुपर्ने देखिन्छ । यसतर्फ वर्तमान सरकारले ध्यान दिन स्थानीयले आग्रह गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update