काठमाडौं । सरकारले सीमावर्ती क्षेत्रमा भन्सार नीतिमा कडाइ गरेपछि त्यसको प्रत्यक्ष प्रभाव स्वदेशी बजारमा देखिन थालेको छ । एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार लाग्ने व्यवस्था लागू भएसँगै भारतीय बजारतर्फ किनमेलका लागि जाने नेपालीहरूको संख्या घटेको छ भने यसको सकारात्मक असर भने स्थानीय नेपाली बजारमा देखिन थालेको छ ।
पछिल्लो एक महिना यता रुपन्देहीको भारतीय बजार सुनौली र नौतनवा खरिद गर्न जाने नेपाली ग्राहकहरु संख्या घट्दो क्रममा छ । खासगरी घरायसी सामानको नाममा दैनिक भारतबाट नेपालतर्फ विभिन्न सामान ओसार्न सक्रिय समूहहरु घटेका हुन् । घरायसी सामानका लागि थोरै मात्रामा खरिद गर्न जाने सीमा क्षेत्रका बासिन्दालाई भने भन्सार र प्रहरी प्रशासनले केही सहजीकरण गरेको छ । विगता जस्तो हजारौं रुपैयाँको सामान ल्याउनहरुलाई अनिवार्य भन्सार गर्ने गरिएको छ ।
एक सय रुपैयाँ भन्दा बढीको सामान ल्याए पनि घरायसी प्रयोजन खुलेमा छाड्ने गरिएको भन्सार कर्मचारीहरु बताउँछन् । प्रशासनको कडाईले पछिल्लो चार हप्ता यता सिद्धार्थनगरसँगै जोडिएको भारतको फरेनिया बजार जानेहरु पनि केही मात्रामा घटेका छन् । व्यवसायीहरुले नाकामा केही मात्रामा कडाई भएपनि राति हुने चोरी तस्करी अझै नरोकिएको गुनासो गर्ने गरेका छन् । नाकामा कडाई र रातिमा हुने तस्करी ठप्प भए मात्रै स्वदेशी ब्यापार बृद्धि हुने उनीहरुको भनाई छ ।
भारतसँग रुपन्देहीको करिब ७० किमी सीमा क्षेत्र छ । मुख्य भन्सारबाटै एक सय रुपैयाँ बढीको सामान ल्याउँदा भन्सार हुने गरेपनि अन्य क्षेत्रबाट भित्र्याउँदा समस्या निम्तिने गरेको स्थानीयको भनाई छ ।
सिमानाकामा गरिएको कडाइपछि भन्सार हुँदै बैध रुपबाट व्यापारिक सामानको आयात विगत भन्दा बढेको छ भने भैरहवा लगायत आसपासको बजारमा केही चहलपहल समेत बढेको छ ।
उता कैलालीको त्रिनगर भन्सार नाका आसपासको क्षेत्र अहिले पहिलेको तुलनामा फरक देखिन्छ । जहाँ पहिले दैनिक सयौं नेपाली उपभोक्ताहरू भारतको बनगाउँ बजारतर्फ किनमेलका लागि जाने गर्थे, अहिले त्यो संख्या घटेको छ । भन्सार कडाइसँगै सीमापारि जाने क्रम घट्दा धनगढीका स्थानीय बजारहरू भने चलायमान बन्न थालेका छन् ।
दैनिक उपभोग्य वस्तुहरूको व्यापारमा सुधार देखिन लागेको र कडाइलाई निरन्तरता दिन सकेमा उत्पादनमा आधारित उद्योगहरूलाई सकारात्मक प्रभाव पार्ने उनीहरुको भनाई छ । केही दिनको कडाइले मात्रै सुधार नआउने बताउँदै सिमानाकाको कडाईले नेपाली बजारमा कालो बजारी रोक्नुपर्ने स्थानीयको भनाइ छ ।
त्यस्तै नेपाल–भारत सीमास्थित प्रमुख नाका हो काँकरभिट्टा नाका । मेची भन्सार कार्यालयले पछिल्लो समय जाँचपास प्रणालीलाई कडाइ गरेसँगै अवैध आयात नियन्त्रणतर्फ उल्लेखनीय सुधार देखिएको छ । सीमा क्षेत्रमा हुने साना तथा ठूला तस्करीका प्रयासहरू नियन्त्रण गर्न निगरानी बढाइएको छ ।
विशेषगरी दैनिक उपभोग्य सामग्री, इलेक्ट्रोनिक्स तथा कपडाजन्य वस्तुहरू अवैध रूपमा भित्र्याउने प्रवृत्तिमा कमी आएको दाबी गरिएको छ । भन्सार प्रशासनले यात्रु जाँच, सवारी साधन स्क्यानिङ र बिल–भौचर अनिवार्य जाँचलाई थप प्रभावकारी बनाएको छ । नाकामा कडाइपछि वैध व्यापार गर्नेहरूलाई सकारात्मक प्रभाव परेको छ । व्यापारीलाई कडाइ गरिएको भएता पनि घरायसी सामाग्री ल्याएर आउने नागरिकलाई सहज भएको सर्वसाधारण बताउँछन्
नेपाल भन्सार विभागले देशभरका प्रमुख नाकामा एकरूपता कायम गर्दै राजस्व चुहावट रोक्न यस्तो कडाइलाई निरन्तरता दिएको मेची भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपाने बताउँछन् ।
उता वीरगञ्जको बजार पनि विगतको तुलनामा ३० प्रतिशतले बढी चलायमान भएको स्थानीय व्यापारीहरूको भनाइ छ । सरकारले एक सय रुपैयाँभन्दा बढीको सामानमा अनिवार्य भन्सार लागू गरेपछि किनमेल गर्न भारतीय बजार जाने नेपालीको संख्या घटेको छ भने सीमावर्ती नेपाली व्यापारी उत्साहित देखिएका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले नाकामा १ सय रुपैयाँभन्दा बढीको सामानमा कडाइ गरेर मात्र समस्या समाधान नहुने बताउछन् । उनले आवश्यक वस्तुको पहिचान गरी भन्सार दरमा सहुलियत दिन सके मात्रै यसको दीर्घकालीन समाधान हुने उल्लेख गरे ।
नेपाल–भारत सिमानामा १ सय रुपैयाँभन्दा बढीको सामानमा अनिवार्य भन्सार लागू गरेपछि स्थानीय बजारमा सकारात्मक प्रभाव देखिएपनि उपभोक्ताहरू भने महँगी र घट्दो क्रयशक्तिका कारण प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
तस्करी नियन्त्रण र स्थानीय बजार प्रबर्दनलाई जोड दिने उद्देश्य भएपनि दीर्घकालीन रूपमा यो नीति प्रभावकारी हुन स्वदेशी वस्तुमा सहुलियत, स्पष्ट नीति र सन्तुलित कार्यान्वयन देखिन्छ ।
