धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत लिने भन्दै डाकिएको बैठक विषय प्रवेश नै गर्न सकेन्। नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरुले फ्लोर क्रस गर्न सक्ने सम्भावना देखिएपछि पछि हटेका मुख्यमन्त्रीको आलोचना तीब्र बन्न पुगेको छ ।
शुक्रबार मधेश प्रदेशसभामा कृष्णप्रसाद यादव नेतृत्वको सरकारले विश्वासको मत लिने कार्यतालिका बनाइएकोे थियो । मुख्यमन्त्री यादवकै पार्टीभित्र पनि विश्वासको मत नदिने भन्दै करिब ६ जना प्रदेश सांसदले असन्तुष्टी जनाएपछि शुक्रबार विहान ११ बजे बस्ने भनिएको बैठक करिब चार घण्टापछि बस्यो ।
यसअघि जसपा नेपालले पनि मुख्यमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै विश्वासको मत नदिने भने पछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार अलमलमा परेको थियो । संसद बैठक सञ्चालन अघिसम्म सबै दलका नेताहरुसंग बसेर मुख्यमन्त्री यादवले यही जेठ ८ गते विश्वासको मत लिने गरि कार्यतालिका बनाउन अपिल गरेपछि प्रदेशसभा बैठकमा आरोप–प्रत्यारोप नै चल्यो ।
विवाद समाधानका लागि भन्दै चलेको बैठकले बैशाख ८ मा अघि बढ्ने तयारी गरेपछि प्रदेशसभा बैठक विषय प्रवेश नै नगरि अर्को विषयमा पुग्यो। त्यसपछि चलेको बैठकमा जसपा नेपालका प्रदेश सांसदसमेत रहेका पूर्वमुख्यमन्त्री लालबाबु राउतले आफूहरु वर्तमान सरकारकै पक्षमा रहेको बताए ।
शुक्रबार बिहान ११ बजे बस्ने भनिएको प्रदेश सभा बैठक साढे ३ बजेपछि मात्रै शुरु भएको थियो । शुक्रबारदेखि मधेश प्रदेश सभाको सातौँ अधिवेशन शुरु भएको छ ।मुख्यमन्त्रीले आफ्नो अनुकूल नदेखेपछि शुक्रबार विश्वासको मत नलिइ शुभकामना मन्तव्यको कार्यसूची फेरबदल गरेपछि सदनको कामकारबाहीमा ढिलाइ हुन पुगेको छ ।
सत्तापक्षकै दल र सत्तागठबन्धन दलबीचको समन्वय नहुँदा र सरकारकै कारण प्रदेश सांसदहरु पनि असन्तुष्ट देखिनु नै असफलताको संकेत रहेको नेकपा एमालेका सांसद राजकुमार लेखीले बताए ।
गत वैशाख २२ गते जनमत पार्टीले नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि संविधान तथा कानुनी व्यवस्थाअनुसार सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था आएको होे ।
सोहीअनुसार शुक्रबार विश्वासको मत लिने तयारी भए पनि कांग्रेसभित्रै ‘फ्लोर क्रस’ हुने, सत्ताधारी जसपा नेपालभित्र असन्तुष्टीको सम्भावना देखिएपछि सरकारले अन्तिम समयमा विश्वासको मत नलिने गरी कार्यसूची परिवर्तन गराएको छ । अब यही जेठ ८ गते मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूची तय भएको छ ।
