झापा । पूर्वपश्चिम महेन्द्र राजमार्गलाई एसियाली राजमार्गका रूपमा स्तरोन्नति गर्ने क्रममा झापाको काँकरभिट्टादेखि लौकहीसम्मको सडकखण्ड आसपासका हजारौं रूखहरू कटान गरिएको थियो । तर अहिले काटिएका हजारौं क्यु फिट गोलिया काठ उचित व्यवस्थापन अभावमा सडेर कामै नलाग्ने अवस्थामा पुगेका छन् ।
स्थानीयलाई दाउरा तथा काठ उपभोग गर्न नदिई राज्यको आम्दानीका लागि संकलन गरिएको करोडौं मूल्यको काठ झापास्थित हातेमालो सामुदायिक वन कार्यालय परिसरमा वर्षौंदेखि थन्किएर नष्ट हुन थालेपछि सरकारी कार्यशैलीमाथि प्रश्न उठेको छ ।
पूर्व–पश्चिम राजमार्गको काँकरभिट्टादेखि लौकहीसम्मको करिब ९५ किलोमिटर सडकलाई चार लेनको एसियाली राजमार्गमा स्तरोन्नति गर्ने क्रममा काटिएका रुखका काठ मेचीनगर, कनकाई र दमक सब–डिभिजन वन कार्यालयमार्फत संकलन गरिएको थियो ।
खुला आकाशमुनि राखिएका अधिकांश गोलिया काठ कुहिने, चिरिने र ढुसी लाग्ने अवस्थामा पुगेका छन् । अव्यवस्थित व्यवस्थापनका कारण न स्थानीयले उपयोग गर्न पाए न राज्यले अपेक्षित आम्दानी प्राप्त गर्न सकेको स्थानीयको गुनासो छ ।
डिभिजन वन कार्यालय झापाका अनुसार सडक विस्तार आयोजनाबाट प्राप्त काठ व्यवस्थापन प्रक्रियाअन्तर्गत संकलन गरिएको हो । नापजाँच, वर्गीकरण र कानुनी प्रक्रिया पूरा गरी दुई पटक लिलामी गरिए पनि बिक्री नभएपछि काठ लामो समयदेखि भण्डारणमै रहेको छ ।
सार्वजनिक सम्पत्तिका रूपमा रहेको हजारौं क्यु फिट काठ वर्षौंदेखि थन्किएर नष्ट हुन थालेपछि यसको अवस्था, क्षति र जिम्मेवारीबारे छानबिन आवश्यक देखिएको छ ।
स्रोतको सदुपयोग हुन नसक्दा राज्यलाई करोडौं रुपैयाँ क्षति पुग्ने जोखिम बढेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।
