News 24 Television
स्वयम्भू महाचैत्यमा वर्षौंदेखिको चुनाको तह हटाइँदै, फर्किँदै मौलिक स्वरूप

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र स्वयम्भू महाचैत्यको गुम्बजमा वर्षौंदेखि जमेको चुनाको बाक्लो तह हटाउन थालिएको छ । पूर्णिमा तथा अन्य अवसरमा लगाइने चुनाले मौलिक स्वरूप परिवर्तन गर्ने भएकाले समय–समयमा चुना खुर्किने गरिन्छ । 

विश्व सम्पदा सूचीमा सूचीकृत तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र स्वयम्भू महाचैत्यमा वर्षौंदेखि विभिन्न शुभकार्य, स्वास्थ्य लाभ र विश्व शान्तिको कामनासहित छरिँदै आएको चुना बाक्लिँदै गएपछि यसको मौलिक स्वरूप प्रभावित भएको छ । 

यही कारण स्वयम्भू व्यवस्थापन महासमितिको सक्रियतामा जमेको चुनाको तह हटाउने अभियान सुरु गरिएको छ । समितिले हरेक १०–१२ वर्षमा यस्तो सरसफाइ गरी महाचैत्यलाई मौलिक स्वरूपमा फर्काउने गरेको छ ।

विश्व सम्पदा क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राख्दै पुरातत्व विभागको मापदण्डअनुसार स्वयम्भू महाचैत्यको गर्भ अर्थात् डोममा असर नपर्ने गरी संरक्षण कार्य अघि बढाइएको छ । पर्यटक आकर्षणको केन्द्र बनेको स्वयम्भू क्षेत्रमा दैनिक दुई सिफ्टमा सरसफाइ, खानेपानी तथा व्यवस्थापनका काम सञ्चालन भइरहेका छन् । 

परापूर्वकालदेखि नै घाँस उम्रिन र लेउ लाग्न नदिन महाचैत्यमा चुना छर्ने परम्परा रहँदै आएको छ । वर्षेनि लाखौ स्वदेशी तथा विदेशीहरु पुग्ने स्वयम्भूनाथमा आस्था, सम्पदा संरक्षण र पर्यटकीय व्यवस्थापनबीच सन्तुलन कायम गर्दै स्वयम्भू महाचैत्यको मौलिक स्वरूप जोगाउने प्रयास तीव्र बनाइएको हो । नियमित सरसफाइ, संरक्षण तथा चुनाको व्यवस्थापनले यस ऐतिहासिक सम्पदाको दीर्घकालीन संरक्षणमा टेवा पु¥याउने विश्वास गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update