News 24 Television
घरभित्र लुकेका पीडा सार्वजनिकः बेनीको सेवा केन्द्रमा ९८ जनाले पाए आश्रय

म्याग्दी । बेनी नगरपालिकाले संघीय मन्त्रालयसँगको साझेदारीमा सञ्चालन गरेको अल्पकालीन सेवा केन्द्रले पीडितलाई बढिमा ४५ दिनसम्म र आवश्यक परे १५ दिन थप सुरक्षित आवास, स्वास्थ्य परीक्षण, उपचार, मनोसामाजिक तथा कानुनी परामर्श र पुनःस्थापना समन्वय निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । 

घरभित्र हुने हिंसा प्रायः चार पर्खालभित्रै सीमित रहन्छ । आफन्तको दबाब, सामाजिक प्रतिष्ठाको डर, आर्थिक निर्भरता र न्यायसम्म पुग्न कठिन हुँदा धेरै पीडितका समस्या सार्वजनिक हुँदैनन् । 

त्यसैले घरेलु तथा लैङ्गिक हिंसा, बालविवाह, पारिवारिक विवाद र सामाजिक विभेदका घटना तथ्यांकभन्दा गम्भीर छन् । पीडितलाई कानुनी उपचारसँगै सुरक्षित आश्रय, मनोसामाजिक परामर्श, स्वास्थ्य सेवा र पुनःस्थापनाको आवश्यकता हुन्छ । 

यही उद्देश्यले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय र बेनी नगरपालिकाको साझेदारीमा सञ्चालन भएको अल्पकालीन सेवा केन्द्रबाट हालसम्म ९८ जनाले सेवा लिएका छन् । प्रहरी, अस्पताल तथा सडक बालबालिकालाई समेत यहाँ आश्रय र आवश्यक सेवा प्रदान गरिन्छ ।

आर्थिक वर्ष २०७७\०७८ मा सुरु भएको अल्पकालीन सेवा केन्द्रबाट हालसम्म ९८ जना सेवाग्राहीमध्ये ६३ महिला, ८ बालक, २४ बालिका र ३ ज्येष्ठ नागरिक छन् । विभिन्न प्रकारका हिंसाबाट प्रभावित व्यक्तिहरूलाई आश्रय, संरक्षण र आवश्यक सेवा प्रदान गरी पुनःस्थापनामा सहयोग गरिएको छ ।

नगरपालिकाले मेलमिलापकर्तामार्फत विवाद समाधान गर्ने नीति अवलम्बन गरेको छ र वडा तहसम्म मेलमिलाप केन्द्र विस्तार गरेको छ । 

न्यायिक समितिले पनि मेलमिलापलाई प्राथमिकता दिएको छ । नगरपालिकामा ४३५ जना अपाङ्गता परिचयपत्रधारी छन् भने यसमा क वर्गका ४३, ख वर्गका २४६, ग वर्गका ११५ र घ वर्गका ३९ जना रहेका छन् ।

चार वर्ष पूरा गरेको न्यायिक समितिले मेलमिलापलाई प्राथमिकता दिँदै न्याय पहुँच सहज बनाएको छ । जितहारभन्दा सहमतिमा जोड दिएको समितिले बेनी नगरपालिकाका नागरिकलाई छिटो, सरल र प्रभावकारी न्याय सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, असार १२, २०८३  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update