झापा । झापाको मेचीनगर नगरपालिका–४ बाहुण्डाँगीसहित सीमावर्ती क्षेत्रमा वर्षौंदेखि दोहोरिँदै आएको मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि नेपाल र भारतका स्थानीय सरोकारवालाले संयुक्त पहल अघि बढाएका छन् । सीमावर्ती क्षेत्रमा रातको समयमा नेपालतर्फका बस्तीमा प्रवेश गरी बालीनाली, घर तथा अन्य सम्पत्तिसँगै मानवीय क्षति पु¥याउने गरेका छन् ।
सीमापार आवतजावत गर्ने जङ्गली हात्तीका कारण हुने जनधन क्षति घटाउन दुवै देशका निकायबीच संयुक्त कार्ययोजना बनाउने विषयमा भारतको पश्चिम बंगालस्थित दार्जिलिङ जिल्लाको नक्सालबारीमा छलफल भएको छ ।
मानव–हात्ती द्वन्द्व दीर्घकालीन रूपमा समाधान गर्न स्थानीय सरकार, वन प्रशासन, सुरक्षा निकाय र संरक्षण संस्थाबीच सहकार्य आवश्यक भनियो। मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले यो साझा सीमावर्ती समस्या भएकाले संयुक्त प्रयास आवश्यक बताए । बाहुण्डाँगीवासी वर्षौंदेखि हात्तिको त्रासमा छन् । स्थानीय प्रयास मात्र पर्याप्त नभई प्रभावकारी सीमापार सहकार्य आवश्यक रहेकोर्मा छलफलमा जोड दिइएको छ ।
त्यस्तै संविधानसभा सदस्य रविन कोइरालाले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको सुरक्षा राज्यको प्राथमिक दायित्व भएको उल्लेख गर्दै दुवै देशका सम्बन्धित निकायबीच नियमित समन्वय संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए ।
भारततर्फका खर्साङ फरेस्ट डिभिजनका डिभिजनल फरेस्ट अफिसर (डीएफओ) दिवेश पाण्डेले हात्तीले राजनीतिक सीमा नचिन्ने भएकाले संरक्षण र व्यवस्थापन पनि सीमापार सहकार्यमा आधारित हुनुपर्ने बताए ।
उनले नियमित सूचना आदानप्रदान, संयुक्त अनुगमन तथा वैज्ञानिक व्यवस्थापनमार्फत मानव र हात्तीबीचको द्वन्द्व घटाउन भारतका निकाय प्रतिबद्ध रहेको बताए । यता पर्यटन अभियन्ता राज बसुले सीमावर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्नु नै दीर्घकालीन समाधानको आधार भएको बताएका छन् ।
छलफलमा भारतको एसएसबीका प्रतिनिधि, स्थानीय गैरसरकारी संस्थाका पदाधिकारी तथा नेपाल–भारतका वन, स्थानीय सरकार र संरक्षण क्षेत्रका अन्य जिम्मेवार प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।
सीमापार सहकार्यलाई प्रभावकारी बनाउन सके मानवको सुरक्षा सुनिश्चित गर्दै हात्ती संरक्षणको दीर्घकालीन लक्ष्य पनि हासिल गर्न सकिनेछ ।
