News 24 Television
आफ्नो पुरानो अभिब्यक्ति हर्कलाई भयो भारी

धनुषा । श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले कुनै समय कुनै समय गाईसम्बन्धी दिएको अभिव्यक्ति दिएका थिए ।

सोही अभिब्यक्तिका कारण मंगलबार जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन गर्ने उनको पूर्वघोषित कार्यक्रम सार्वजनिक भएपछि हिन्दूवादी समूहले मन्दिर प्रवेशको विरोध गर्दै प्रदर्शन गरेका हुन् । विरोधका कारण उनले जानकी मन्दिर दर्शन गर्ने कार्यक्रम स्थगित गर्नुपर्यो । 

जनकपुरधाममा पार्टीको कार्यक्रममा सहभागी हुन आएका श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जानकी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम तय गरेका थिए । तर उनले फेसबुकमार्फत मन्दिर दर्शनको जानकारी सार्वजनिक गरे लगत्तै हिन्दू सम्राट सेना नेपालका कार्यकर्ताले यसको विरोध गरे । 

विरोध प्रदर्शनका कारण दिनभर जानकी मन्दिर क्षेत्र तनावग्रस्त बनेको थियो । प्रदर्शनकारीहरूले कुनै पनि अवस्थामा साम्पाङलाई मन्दिर प्रवेश गर्न नदिने चेतावनी दिए । उनीहरूले साम्पाङले विगतमा हिन्दू धर्म र गाईप्रति आपत्तिजनक अभिव्यक्ति दिएको तथा हिन्दू धर्मको भावनामाथि चोट पु¥याउने गतिविधि गर्दै आएको आरोप लगाएका छन् ।

विरोध प्रदर्शनलाई मध्यनजर गर्दै जानकी मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा पारिएको थियो । सम्भावित अप्रिय घटना रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्त रूपमा परिचालन गरिएको थियो । 

हिन्दू सम्राट सेना नेपालकी नेतृ लक्ष्मी साह सनातनीले साम्पाङले विगतमा गाईसम्बन्धी विवादास्पद अभिव्यक्ति दिएको र क्रिश्चियन धर्मलाई प्रश्रय दिएको आरोप लगाउँदै त्यही कारण उनलाई जानकी मन्दिर प्रवेश गर्न नदिने निर्णय गरिएको दाबी गरिन् ।

यता जानकी मन्दिर दर्शन गर्न नपाएका अध्यक्ष हर्क सम्पाङले आफूलाई मन्दिरमा प्रवेश गर्नमा बिरोध गर्नेहरुलाई सम्मान गरेकाले आफू जानकी मन्दिरमा नगएको बताएका छन् ।

पार्टीको मधेश प्रदेशको साधारणसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन्  ।

साथै उनले अहिले दर्शन गर्न नसके पनि अर्को अवसरमा जानकी माताको दर्शन अवश्य गर्ने विश्वास व्यक्त गरेका छन् । साम्पाङको जानकी मन्दिर प्रवेशको विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न किसिमका टिकाटिप्पणीहरु भइरहेका छन् ।

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update