News 24 Television
मेची राजमार्ग ठप्प ! सडक बन्द हुँदा बिरामीदेखि ढुवानीसम्म संकट

इलाम । मेची राजमार्ग अन्तर्गत इलाम माइखोला राजदुवालीकमाथि सडक अवरुद्ध भएको तीन सात भयो । सडक खुल्ने अझै छाँटकाँट छैन । सडक बन्द भएपछि इलाम मात्र हैन पुर्वी पहाडी जिल्ला पाँचथर ताप्लेजुङ लगायतका स्थानीयलाई समेत सास्ती भएको छ ।

मेची राजमार्ग अन्तर्गत इलामको माइखोला (राजदुवाली) माथिको सडक भासिएर तीन सातादेखि अवरुद्ध हुँदा इलामसँगै पाँचथर र ताप्लेजुङका नागरिकले सास्ती भोगिरहेका छन् । सडक बन्द भएपछि सवारी साधन वारिपारि नै रोकिने गरेका छन् भने यात्रुहरू करिब एक किलोमिटर भिरको बाटो पैदल हिँड्न बाध्य छन् । 

बिरामीलाई जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले स्टे«चरमार्फत वारपार गराइरहेका छन् भने एम्बुलेन्स पनि दुवैतर्फबाट सेवा दिन बाध्य छन् । अत्यावश्यक खाद्यान्न, ग्यास र तरकारी ढुवानीसमेत प्रभावित बनेको छ । इलाम नगरपालिकाले सरोकारवाला निकायसँग छलफल गरी पुनः इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेको छ । 

राजदुवाली खण्डको पहिरो नियन्त्रण, ट्रस्ट पुल मर्मत तथा जोरकलश–हर्कटे सडक स्तरोन्नतिको लागि २४ करोड ९३ लाख रुपैयाँभन्दा बढीको ठेक्का जे एन्ड जे निर्माण सेवा प्रालिले २०८४ असारसम्म सम्पन्न गर्ने गरी लिएको भएपनि हालसम्म समग्रमा १८–२० प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ । स्थानीयले मुख्य सडकभन्दा वैकल्पिक सडक तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् ।

गत वर्ष तीन महिनासम्म संकटग्रस्त क्षेत्र घोषणा गरिए पनि प्रभावकारी काम नभएको भन्दै स्थानीय आक्रोशित छन् । सरकारले सडक बनाउन नसके इलामेली आफैंले श्रमदान र चन्दा उठाएर सडक तथा पुल निर्माण गर्ने चेतावनी दिएका छन् ।

सडक अवरुद्धकै कारण बिरामीले समयमै उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था रहेको भन्दै तत्काल समाधानको माग गरिएको छ । 

उता वैकल्पिक सडकका रूपमा प्रयोग गरिने सिमलगोलाई–तिल्केनी तथा केचना–कञ्चनजंघा सडकको बेलासी–भन्ज्याङ खण्ड पनि निर्माणमा ढिलाइका कारण सञ्चालन योग्य छैन । माइजोगमाई र पुवा खोलाका पुल गत वर्षको बाढीले बगाएपछि अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । यस वर्ष बजेटमै इलामलाई बेवास्ता गरिएको भन्दै स्थानीयले सरकारसँग तत्काल सडक सञ्चालनको सुनिश्चितता गर्न माग गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update