सुनसरी । सुनसरीमा दुई समुदायबीच भएको झडपपछि विभिन्न जिल्लामा फैलिएको तनावका बीच कोशी–मधेशका विभिन्न सहरमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको सन्देश दिँदै बृहत् सद्भाव ¥याली आयोजना गरिदैछ । देशका विभिन्न स्थानमा निकालिएका यस्ता ¥यालीले सामाजिक सद्भाव कायम हुने ठानिएको छ ।
सुनसरीमा भएको घटनापछि मधेशका विभिन्न जिल्लामा देखिएको तनावका बीच सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले बृहत् सद्भाव ¥याली निकालिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाको अगुवाइमा आयोजित ¥याली जनकपुरधामस्थित रेल्वे स्टेशनबाट शुरु भइ नगरका विभिन्न मुख्य सडक हुँदै सम्पन्न भएको थियो ।
¥यालीमा राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि, धार्मिक अगुवा, नागरिक समाज तथा उद्योगी–व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले मिथिला सभ्यता र संस्कृतिले सधैँ शान्ति, सहिष्णुता र सद्भावको सन्देश दिएको उल्लेख गर्दै सामाजिक एकता जोगाउन सबैलाई जिम्मेवार र संयमित बन्न आग्रह गरे ।
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीपक यादवले सामाजिक सद्भाव कायम राख्न सबै समुदाय एकजुट हुनुपर्ने बताउँदै सुनसरी र सिरहाका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे ।
जनकपुरधाम उपमहानगरपालिकाका पूर्वउपमेयर असगर अलीले घटनाबाट प्रभावितलाई न्याय दिलाउनुका साथै समाजमा विश्वास र सद्भाव कायम गर्न समुदायबीच निरन्तर संवाद आवश्यक रहेको बताए ।
यता, मोरङको लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्र कुमार लावतीले २०६५ साल देखि नै लेटाङमा अन्तरधार्मिक शान्ति संजाल गठन गरेर सबै धर्म र जातजाति बीच सामाजिक सद्भाव कायम गर्राईरहेको जानकारी दिए ।
सामाजिक सञ्जालमा देखिने विभिन्न अफवाहलाई रोक्दै सद्भाव कायम गर्नुपर्ने गरि सार्वजनिक अपिल गर्न थालिएको छ। केहिदिनदेखि अशान्त बनेको तराई मधेसमा विस्तारै शान्ति स्थापनाका निम्ति नागरिक नै जागरुक बन्न थालेका छन्। यद्यपी वीरगञ्ज र सिरहाको गोलबजारलगायतका केही क्षेत्रमा भने निषेधाज्ञा अझै कायम रहेको प्रशासनले जनाएको छ ।
