News 24 Television
पूर्वी नाकाबाट विदेशी पर्यटक बढे, सबैभन्दा धेरै भुटानी

झापा । पूर्वी नेपालको प्रमुख स्थलमार्ग काँकरभिट्टा नाका हुँदै आर्थिक वर्ष २०८२\८३ मा ८६ देशका ९ हजार ४४७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन कार्यालय काँकरभिट्टाको तथ्याङ्कअनुसार यो संख्या दैनिक औसत करिब २६ जना विदेशी पर्यटक नेपाल प्रवेश गरेको हो । 

आर्थिक वर्ष २०८२\८३ मा काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गर्ने विदेशी पर्यटकमा भुटान, अमेरिका, थाइल्याण्ड, अष्ट्रेलिया, बेलायत, क्यानडा, जर्मनी, फ्रान्स, जापान र रुसलगायत देशका नागरिक छन् । कुल आगन्तुकमध्ये भुटानी नागरिकको हिस्सा सबैभन्दा ठूलो छ । ४ हजार ९९४ जना भुटानी नागरिक नेपाल प्रवेश गरेका छन् । 

जुन कुल पर्यटक संख्याको करिब ५३ प्रतिशत हो । त्यस्तै २ हजार १५२ जना अमेरिकी नागरिकले काँकरभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका छन् । यो कुल आगन्तुकको करिब २३ प्रतिशत हो । भारतका नागरिकलाई नेपाल प्रवेश गर्न भिसा आवश्यक नपर्ने भएकाले उनीहरूलाई तेस्रो मुलुकका पर्यटकसम्बन्धी तथ्याङ्कमा समावेश गरिएको छैन । 

महिनागत तथ्याङ्कअनुसार सबैभन्दा बढी विदेशी पर्यटक पुसमा १ हजार ८५० जना र सबैभन्दा कम भदौमा २१६ जना नेपाल प्रवेश गरेका छन् । अध्यागमन कार्यालयले पुस र माघलाई प्रमुख पर्यटकीय याम मानेको छ । 

पर्यटकको आगमन उत्साहजनक भएपनि बसाइ छोटो हुने गरेको होटल व्यवसायी बताउँछन। पूर्वी नेपालका पर्यटकीय गन्तव्यमा पर्यटकलाई केही दिन रोक्न सके झापा, इलाम, ताप्लेजुङलगायत जिल्लाको पर्यटन तथा होटल व्यवसायमा उल्लेख्य योगदान पुग्ने उनीहरूको भनाइ छ ।

पूर्वी नेपालका पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रिय प्रचारप्रसार र सीमा नाकामै यातायात, होटल तथा भ्रमणसम्बन्धी सूचना उपलब्ध गराउनुपर्ने पर्यटन व्यवसायी कुन्दन निरौला बताउँछन् । 

अध्यागमन कार्यालय काँकरभिट्टाले सन् २०२४ अगस्टदेखि पूर्ण रूपमा अध्यागमन सेवा सञ्चालन गरेको थियो । सेवा प्रभावकारी भएपछि विदेशी पर्यटकको आगमन क्रमशः बढेको सूचना अधिकारी इन्द्रकुमार राजवंशी बताउँछन् । 

अन्तर्राष्ट्रिय प्रचारप्रसार, पर्यटन सूचना केन्द्र र आकर्षक प्याकेज निर्माणसँगै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्न सके विदेशी पर्यटकको संख्या बढाउन सकिने देखिन्छ । यसबाट होटल, यातायात, ट्राभल्स, हस्तकला तथा स्थानीय उत्पादनको बजारसमेत लाभान्वित हुने देखिएको छ । 

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update