News 24 Television
विद्युत् व्यापारको ढोका खोल्दै ४०० केभी लाइन

पश्चिम नवलपरासी । ४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइनको १८ किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न भएको छ । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले उक्त कार्य सम्पन्न गरेको हो । विद्युत् सञ्जाल सुदृढीकरण र सीमापार विद्युत् सञ्जाल विस्तारका लागि नेपालको प्रयासका सन्दर्भमा महत्वपूर्ण उपलब्धि हासिल भएका एमसिए–नेपालले जनाएको छ । 

प्रसारण लाइन निर्माण सम्पन्न भएको अवसरमा पश्चिम नवलपरासी स्थित न्यू बुटवल सबस्टेसनमा आइतवार आयोजित समारोहमा बोल्दै अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपालको सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले नेपाल, संयुक्त राज्य अमेरिका र एमसीसीबीचको साझेदारीप्रति कृतज्ञता व्यक्त गरे । 

यस प्रसारण लाइनको निर्माण सम्पन्न हुनु नेपालको विद्युत् पूर्वाधारको सुदृढीकरण र सीमापार ऊर्जा सञ्जाल विस्तारका लागि एक महत्वपूर्ण उपलब्धि हो । कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह–सचिव सुनिल पौडेलले यस निर्माण सम्पन्नताबाट नेपालले आफ्नो विद्युतीय पूर्वाधार सुदृढ गर्न र सीमापार विद्युत् सम्पर्क विस्तार गर्न हासिल गरिरहेको प्रगति प्रतिविम्बित भएको बताए । 

समयसीमाभित्रै निर्माण कार्य पूरा गर्नका लागि एमसिए–नेपालले गरेको यस उपलब्धिले नेपाल र भारतबीचको सुदृढ विद्युत् सञ्जालबाट प्राप्त हुने र बृहत् लाभ हासिल गर्ने दिशामा अघि बढेको सरोकारवाला बताउछन् । 

यो १८ किलोमिटर खण्ड एमसिए–नेपालको विद्युत् प्रसारण आयोजनाको एक अंश हो । यस आयोजना अन्तर्गत ३१५ किलोमिटर लामो उच्च–भोल्टेजयुक्त प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माणका साथै विद्युत् नियमन आयोग र नेपाल विद्युत प्राधिकरणलाई प्राविधिक सहयोग प्रदान गर्ने कार्यहरू भइरहेका छन् । 

नेपालमा विद्युतको उपलब्धता र विश्वसनीयतामा सुधार ल्याउनुका साथै ऊर्जा सुरक्षा, भावी विद्युत् उत्पादन र सीमापार विद्युत् व्यापारलाई टेवा पु¥याउन आवश्यक प्रसारण सञ्जाललाई सुदृढ बनाउने उद्देश्यले यो आयोजना तयार पारिएको आयोजनाले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update