News 24 Television
पार्टीसँग खगेन्द्रको दूरी बढ्दै, कसरी होला अनुसन्धान ?

काठमाडौँ । रास्वपा सांसद खगेन्द्र सुनार एक महिलालाई धम्क्याउँदै ब्ल्याकमेलिङ गरेको आरोप लागेपछि गम्भीर नैतिकताको प्रश्नले घेरिएका छन् । महिलासँगको भनिएको अडियो संवाद र त्यससँग सम्बन्धित गतिविधिकै कारण उनीमाथि गम्भीर नैतिक प्रश्न उठेको छ । तर, पीडित भनिएकी महिलाले उक्त अडियो आफ्नो नभएको र खगेन्द्रसँग आफूहरूको सम्बन्ध हाल दाबी गरिएजस्तो नरहेको बयान दिएपछि यस प्रकरणको कानुनी पाटोमा केही अन्योल देखिएको छ । यद्यपि, यदि उक्त अडियो सत्य साबित भएपनि महिलाले उजुरी वा आरोप नलगाएको अवस्थामा यो मुद्दा कसरी अघि बढ्छ ? भन्ने कौतूहल र घटनाको सत्यतथ्य बाहिर आउनुपर्ने दबाब बढेको छ । यस्तो अवस्थामा पनि सांसद सुनारले भने आफू कुनै पनि कुकर्ममा संलग्न नरहेको जिकिर गर्दै आएका छन् ।

सांसद सुनारले उक्त अडियो एआई जेनेरेटेड भएकोदेखि महिलालाई काल्पनिक पात्रसम्मको दाबी गरेका छन् । यो घटनाक्रमपछि पार्टीले उनलाई साथ दिएको छैन । रास्वपाले उनलाई सांसदको हैसियतमा कुनै पनि सार्वजनिक गतिविधि नगर्न निर्देशन दिइसकेको छ । समाचार माध्यमहरूमा अडियो र संवाद छाएलगत्तै पार्टीले विज्ञप्ति जारी गरी उनलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन प्रतिबन्ध लगाएको थियो । अब रास्वपाको अनुशासन तथा आन्तरिक अनुसन्धान आयोगले यस विषयमा थप छानबिन गर्नेछ ।

पार्टी र सरकारसँग बढ्यो दूरी

महिलासँगको अडियो प्रकरणले सरकार र पार्टीसँग सांसद सुनारको दूरी बढाएको छ । रास्वपाले उनीमाथि कारबाही अगाडि बढाएपछि सुनारले आफू जुनसुकै अनुसन्धानका लागि तयार रहेको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा स्पष्टीकरण दिँदै उनले लेखेका छन्, ‘म माथि निर्मम छानबिन गरियोस्। आवश्यक परे प्रतिनिधि सभा सदस्य, पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन, बर्खास्त गरियोस् । म र मैले कुनै पनि कुकर्म गरेको खण्डमा पार्टी, सरकार सती जान पर्दैन ।’ सांसद सुनारको यो टिप्पणीले उनी र पार्टीबीचको सम्बन्धमा दुरी बढेको स्पष्ट संकेत गर्छ ।

खगेन्द्रले थप के–के दावी गरेका छन् ? 

–    पार्टी, सरकार र राज्यका सबै निकायले गर्ने छानबिनमा सहयोग गर्न तयार रहेको, आफूले कुनै कु–कर्म गरेको भए त्यसको जिम्मेवार पार्टी वा सरकार हुन नपर्ने । 
–    आफूमाथि लागेका आरोप वा अपराध प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार ।
–    राजनीतिक र सामाजिक क्षेत्रमा क्रियाशील एक निर्दोष महिलामाथि मिडिया ट्रायल गरिएको, तस्बिर–भिडियो जोडेर अनावश्यक टिकाटिप्पणी गरिएको र सुनियोजित ढङ्गले लखेटिएको ।
–    गलत समाचार नलेख्न आग्रह गर्दागर्दै पनि ‘तिमीहरू दुवै जनालाई एकै झट्कामा सक्काउँछौं’ भनी धम्की दिएको केही दिनमै यी घटनाक्रमहरू हुनु शंकास्पद ।
–    आफूमाथि जुनसुकै कारबाही स्वीकार्य भए पनि, एक महिलामाथि प्रहरी, राज्य, समाज र मिडियाबाट गरिएको दुव्र्यवहार तथा आक्रमण कुनै पनि हालतमा मान्य नहुने ।

घटनाअघिको पृष्ठभूमि के थियो ?
 
नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सांसद सुनारबीच यसअघिदेखि नै विवाद रहँदै आएको छ । सांसद सुनारले प्रहरी संगठनमा पोसाक खरिदमा अनियमितता भएको भन्दै गम्भीर आरोप लगाउँदै आएका छन् । र, सोमाथि अनुसन्धान हुने विषय उठाउँदै आएका छन् ।  आईजीपी कार्कीसँगको नोकझोकपछि आफूलाई गिराउन प्रहरी संगठन नै लागिपरेको सुनारको आरोप छ । 

अडियो बाहिरिनुअघि नै उनले आफूविरुद्ध कुनै अपराधको प्रमाण भए सार्वजनिक गरेर देखाउन चुनौती दिएका थिए । यही अभिव्यक्तिलाई जोडेर आफूमाथि षड्यन्त्र भएको सुनारको दावी छ । यद्यपि, खगेन्द्रको यो स्पष्टीकरण र दाबीले मात्रै उनीमाथिको प्रश्न मेटिने अवस्था छैन । सार्वजनिक अडियोले महिलामाथि अन्याय र ब्ल्याकमेलिङसम्मका विषय उठाएकाले यसको सत्यतथ्य छानबिन गरी उनी दोषी ठहरिएमा खगेन्द्रमाथि हदैसम्मको कारबाही हुनुपर्ने आवश्यकता देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update