काठमाडौँ । नेपालीहरुको महान् चाड बडादसैँको अवसरमा काठमाडौँ उपत्यकाबाट घर फर्कने लहर बर्सेनी चल्छ । काठमाडौँ मात्र हैन कामको सिलसिलामा अन्य शहर तथा छिमेकी मुलुक भारत, चीन र अन्य देश गएका नेपालीहरु प्रायः दशैँको मौकामा घर फर्किने गर्छन् । यसले गर्दा गाउँघरको रौनक बेग्लै हुन्छ भने शहरका सडक सुनसानझैँ बन्छन् । यसपालि पनि घटस्थापनादेखि नै काठमाडौँ उपत्यका छाडेर गाउँ फर्कनेहरुको लहर महाअष्टमीका दिनसम्म जारी छ । आइतबार महाअष्टमीसम्म काठमाडौंबाट घर फर्कने यात्रुहरूको संख्या करिब ५ लाख पुगेको छ । नयाँ बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर, माछापोखरी र गौशाला लगायत क्षेत्रमा बिहानैदेखि यात्रुहरूको चहलपहल थियो । यद्यपि दिउँसो हुँदै जाँदा सडकमा सवारी साधनको चाप उल्लेख्य घटेको छ र सडक प्रायः सुनसान हुँदै गएका छन् ।
काठमाडौंका प्रमुख बहिर्गमन नाकाहरू कलंकी, कोटेश्वर, बालाजु तथा नयाँ बसपार्क क्षेत्रमा घर फर्किने सर्वसाधारणको बाक्लो उपस्थिति दिनभर नै देखिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्ला केही दिनयता दैनिक रूपमा उपत्यका छाड्ने यात्रुहरूको संख्या तिब्र गतिमा वृद्धि भइरहेको छ । दशैँ, तिहार तथा छठ पर्व मनाउनका लागि अध्ययन, रोजगारी र व्यवसायका सिलसिलामा राजधानीमा बसोवास गर्दै आएका लाखौँ सर्वसाधारण गाउँ फर्कने क्रम तिहार र छठसम्मै कायम रहन्छ ।
बाहिरिने नाका व्यस्त
दशैँको बेला काठमाडौँमा लोकल सवारीसाधनको चाप घटेको छ तर बाहिरिने नाकाहरु व्यस्त छन् । विशेष गरी पूर्वतर्फ जाने सवारीसाधन र यात्रुहरूको चाप कोटेश्वर, जडीबुटी तथा भक्तपुर क्षेत्रमा केन्द्रित छ भने पश्चिम तथा तराईतर्फ जाने यात्रुहरूको भीड, बालाजु बसपार्क, कलंकी, बल्खु र थानकोट नाकामा बाक्लो देखिएको छ । लामो तथा मध्यम दूरीका सवारीसाधनमा अग्रिम टिकट बुकिङ गरिसकेका नागरिकहरू समयमै गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् भने कतिपय यात्रुहरू तत्काल टिकट व्यवस्थापन गर्न काउन्टरहरूमा लामवद्ध देखिन्छन् ।
प्रहरीको हेल्प डेस्क
दशैँको समयमा यात्रुहरू ठगिने, बढी भाडा असुलिने तथा दुर्घटनाको जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरी र नेपाल प्रहरीले विभिन्न स्थानमा यात्रु सहायता कक्ष (हेल्प डेस्क) सञ्चालनमा ल्याएका छन् । ट्राफिक प्रहरीले निर्धारित भाडादरभन्दा बढी लिने सवारीसाधनमाथि कडा कारबाही गर्ने र सिट क्षमताभन्दा बढी यात्रु नबोक्न सचेत गराएको जनाएको छ । सडक सञ्जालमा आएको पहिरो तथा खाल्डाखुल्डीका कारण केही राजमार्गहरूमा यात्रा असहज बने पनि नागरिकहरू हर्षोल्लासका साथ चाडपर्व मनाउन गाउँघरतर्फ जाने क्रम निरन्तर जारी छ ।
दुर्घटनाको जोखिम
दशैँका बेला सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै देखिन्छ । क्षमताभन्दा बढी यात्रु ओसार्ने, रुट पर्मिट खुला भएका कारण नयाँ रुटमा पुराना लोकल बस चल्ने भएकाले दुर्घटनाको जोखिम बढाएको छ । मुलुकभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनाहरूमा परी ४ जनाको मृत्यु हुनुका साथै २५७ जना घाइते भएका छन् । प्रहरीद्वारा जारी २०८३ असोज ३१ गतेको तथ्यांकअनुसार कोशी प्रदेशमा ३ जना र लुम्बिनी प्रदेशमा १ जना गरी कुल ४ जनाको ज्यान गएको हो । घाइते हुनेहरूमा सबैभन्दा बढी कोशी प्रदेशका ६६ जना, लुम्बिनीका ६० जना, मधेशका ४३ जना, काठमाडौँ उपत्यकाका २९ जना, बागमतीका २० जना, सुदूरपश्चिमका २१ जना, कर्णालीका १० जना र गण्डकी प्रदेशका ८ जना रहेका छन् । दुर्घटना तथा मानवीय क्षति न्यूनीकरणका लागि ट्राफिक नियमको पूर्ण पालना र सुरक्षित सवारी सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ ।



