काठमाडौँ । शरद ऋतु आफैमा रमाइलो र उज्यालो ऋतु हो । कञ्चन आकाश, सिरसिरे हावा, जताजतै सयपत्री फूलहरु र मन्दिरहरूमा गुञ्जिने शंखध्वनिसँगै बडादशैँको रौनक गुञजायमान हुन्छ । नवरात्र अवधिभर मुलुकका विभिन्न शक्तिपीठमा शक्ति उपासनाको विशेष माहोल बनेको देखिन्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको नवरात्रको नवौँ दिन अर्थात् महानवमीको धार्मिक र सांस्कृतिक रूपमा विशेष महत्व रहेको छ । मार्कण्डेय पुराणअनुसार यसै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको बध गरेकाले यस तिथिलाई आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइन्छ । आजका दिन नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाअर्चना गरी दशैँघर तथा शक्तिपीठहरूबाट ल्याइएको जमरा चढाइने र महाकाली, महालक्ष्मी तथा महासरस्वतीको उपासना गरिन्छ ।
राष्ट्रपतिद्वारा नवकन्या पूजन र परम्परा
महानवमीका अवसरमा राष्ट्रप्रमुखबाट नवदुर्गाको अवतारका रूपमा नौ जना बालिकाहरू (नवकन्या) को पूजा गर्ने ऐतिहासिक परम्पराले निरन्तरता पाएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष अनुष्ठानमा राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रथम महिला सबिता पौडेलले वैदिक विधिपूर्वक नवकन्याको गोडा धोएर, टीका–जमरा लगाइदिनुका साथै वस्त्र र दक्षिणा प्रदान गरेका छन् । हिन्दू धर्मशास्त्रमा रजस्वला नभएका बालिकाहरूलाई साक्षात् देवीको प्रतीक मानेर पूजा गर्नाले मुलुकमा सुख, शान्ति र समृद्धि छाउने शास्त्रीय मान्यता रहेको छ ।
वर्षमा एक दिन खुल्ने तलेजु भवानी र कोतपूजा
ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा अवस्थित मल्लकालीन तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि वर्षमा एक दिन मात्र महानवमीका दिन खुला गरिन्छ । यस दिन उक्त मन्दिरमा बिहानैदेखि हजारौँ भक्तजनको लाम लागेको छ । तलेजु भवानीको दर्शनले पारिवारिक समृद्धि प्राप्त हुने जनविश्वास छ । यसै दिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ब्यारेक तथा कोतहरूमा हातहतियार, तोप र जंगी निशानको विशेष पूजाआजा गरी तोप र बन्दुकको सलामीसहित हर्षबढाइँ गरिएको छ । तलेजु भवानी मन्दिरमा राज्यद्वारा पञ्चबलि दिइएको छ । यसका साथै सर्वसाधारणले आफ्ना कलकारखाना, मेसिनरी औजार, प्राधिक उपकरण र सवारी साधनलाई सफा गरी विश्वकर्माका रूपमा पूजाअर्चना गरेका छन् ।
शक्तिपीठहरूमा बलि
आजका दिन काठमाडौँका दक्षिणकाली, गुह्येश्वरी, भद्रकाली, शोभा भगवतीका साथै पलाञ्चोक भगवती र मनकामना लगायतका शक्तिपीठहरूमा महाअष्टमीमा बलि दिइएपछि मार हान्ने र पञ्चबलि चढाउने भक्तजनको ठूलो भीड छ । शाकाहारीहरूले भने कुभिण्डो, घिरौँला, काँक्रो र जटा नरिवलको बलि दिई पायस चढाउने गर्दछन् । उपत्यकाको नेवार समुदायमा भने आजका दिन विशेष रूपमा भीमसेनको पूजा गरी पशुबलि चढाउने र ‘स्याक्वत्याक्व’ पर्वका रूपमा घर–घरमा हर्षोल्लासपूर्वक मनाउने मौलिक परम्परा रहेको छ ।
यसरी दैनिक जीवनमा प्रयोग हुने कर्मसाधन र सवारी साधनको दीर्घायुको कामनादेखि राज्यका कोतहरूमा हतियार पूजनासम्मको महानवमीको विधानले नेपाली समाजमा शक्ति, श्रम र प्रविधिलाई दिइने उच्च सम्मानलाई झल्काउँछ । शीतल निवासदेखि हनुमानढोका र गाउँ–घरका दशैँघरसम्म भक्तिभावका साथ मनाइने महानवमीले राष्ट्रिय एकता, सांस्कृतिक निरन्तरता र आध्यात्मिक चेतनालाई अझ प्रगाढ बनाएको छ ।



