
काठमाडौँ । अमेरिका, चीन र भारत लगायत विभिन्न देशका सेनासँग बेलाबेला संयुक्त सैन्य अभ्यास गर्दै आएको नेपालले यसबेला १८ देशका सेनालाई नेपालमा तालिम गराइरहेको छ । अमेरिकी सरकारको सहयोगमा नेपाली सेनाले आयोजना गरेको उक्त अभ्यास तालिम काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा भइरहेको छ । अमेरिका, क्यानडा, अस्ट्रेलिया र दक्षिण कोरिया लगायत १८ देशका करिब ११ सय सेनाका जवानलाई तालिम दिइँदै छ ।
संयुक्त राष्ट्र संघीय शान्ति सेनामा सहभागी हुने विभिन्न देशका फौजको पेशागत दक्षता अभिवृद्धि गर्ने हेतुले उक्त तालिम सञ्चालन भइरहेको हो । यही फागुन ८ गते सैनिक मुख्यालय भद्रकालीमा उद्घाटन भएको तालिम कार्यक्रम पाँचखालमा जारी छ । फागुन २१ गते तालिम सम्पन्न हुने जनाइएको छ । शान्ति सेना तालिमका लागि अमेरिका, अस्टे«लिया, पाकिस्तान, बङ्गलादेश, फिजी, घाना, मलेसिया, इण्डोनेसिया, मङ्गोलिया, थाइल्याण्ड, उरुग्वे, दक्षिण कोरिया, श्रीलङ्का, भियतनाम, क्यानडा, फिलिपिन्स, नाइजेरियाका सेनाका टुकडी नेपाल आएका हुन् ।
तालिम केन्द्रका महासेनानी सञ्जित श्रेष्ठका अनुसार निकट भविष्यमा शान्ति सेनाको रुपमा युएन मिसनमा जाने फौजहरूलाई लक्षित गरी उक्त तालिम सञ्चालन गरिएको हो । १४ दिनका लागि आयोजित तालिममा १८ देशका सेनालाई विभिन्न १० वटा सैनिक टुकडीमा विभाजन गरी तालिम भइरहेको छ । तालिममा नेपाली सेनाका २ टुकडी समेत सहभागी छन् । नेपालको तर्फबाट भने निकट भविष्यमा शान्ति सेनामा समावेश हुने टुकडीलाई नै समावेश गरेको उनले बताए । एशियाका पाँच देश– नेपाल, बंगलादेश, इण्डोनेसिया, मलेसिया र मंगोलियामा हरेक वर्ष यस किसिमका तालिम हुने गरेको उनले जानकारी दिए । शान्ति सेनामा विभिन्न देशमा जानुपर्ने र त्यहाँ समन्वयको अभाव हुने भएकाले यो तालिम विशेष गरी सहकार्य र समन्वयका लागि आवश्यक रहेको उनको भनाइ छ ।
उक्त केन्द्रका प्रमुख सेनानी सुरज बस्न्यातले शान्ति कार्यको दौरानमा शान्ति सैनिकहरूले दैनिक गर्नुपर्ने मुख्य काममा निखार ल्याउनका लागि यो तालिम सञ्चालन गरिएको बताए । कन्ट्रोलिङको कारबाही, चेक प्वाइन्टको कारबाही, घेरा गर्ने, मानिसहरूको सुरक्षा, नयाँ थपिएका काम– सैनिकहरू कुनै ठाउँमा अड्किएमा उनीहरूलाई ल्याउनुपर्ने लगायत विषयबारे तालिममा सिकाइएको उनले बताए । तालिममा संयुक्त राष्ट्र संघका परिवर्तित व्यवस्थाबारे पनि शान्ति सेनालाई जानकारी गराइएको छ । शान्ति स्थापनाका दौरान विभिन्न देशमा जाँदा समन्वयको अभाव हुने र त्यसको समाधानका लागि यो तालिम काम लाग्ने उनको भनाइ छ ।
अभ्यास तालिममा १ हजार १६२ जना सैनिक सहभागी रहेको बताइएको छ । २८ जना सैन्य अधिकृतहरूले विभिन्न विषयमा तालिम दिइरहेका छन् । युद्ध भइरहेको देशमा पट्रोलिङ र कर्डन एण्ड सर्च अपरेसन कसरी गर्ने भन्नेसहित ३ वटा मुख्य विधामा तालिम भइरहेको छ । यसका साथै राष्ट्र संघका सामान ढुवानी गर्दा कसरी स्कर्टिङ गर्ने र मिसन इलाकामा शंकास्पद बिस्फोटक पदार्थ भेटिए कसरी डिस्पोज गर्ने भन्नेबारेमा पनि तालिम दिइएको छ ।
नेपालले ६५ वर्षदेखि युएन मिसनमा आफ्ना सैनिक पठाउँदै आएको छ । सन् १९५८ मा नेपालले पहिलोपटक नेपाली सेनाका ५ जनालाई लेबनानस्थित राष्ट्रसंघीय पर्यवेक्षक समूहमा सहभागी हुन पठाएको थियो । त्यसको २० वर्षपछि सन् १९७८ मा पुरानो गोरख गणको डफ्फालाई शान्ति सैनिकका रूपमा पहिलोपटक खटाएको थियो । नेपाल पछिल्लो समय सबैभन्दा धेरै शान्ति सैनिक पठाउने देशको सूचीमा अग्रणी रहेको छ । युएन शान्ति मिसनमा नेपालसहित १२१ देशका सेना खटिएका छन् । पछिल्लो तथ्यांकअनुसार विश्वभरबाट करिब ७५ हजार शान्ति सैनिक गृहयुद्धमा फसेका विभिन्न मुलुकमा शान्ति स्थापनाका लागि खटिएका छन्, त्यसमध्ये करिब ५ हजार ८०० नेपाली सैनिक रहेका छन् । नेपाली शान्ति सैनिक विभिन्न १२ वटा मिसनमा खटिएका छन्, जसमा ४४ जना नेपाल प्रहरी र २०२ जना सशस्त्र प्रहरी बलबाट समेत ती मिसनमा खटिएका छन् ।