News 24 Television
भ्रम फैलाइएको भन्दै ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स)ले जारी गर्यो विज्ञप्ति

अस्टिन, टेक्सास — ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स)ले पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल तथा संचार माध्यममार्फत फैलाइएका भ्रम, आरोप र दुश्प्रचारप्रति आपत्ति जनाउँदै औपचारिक प्रेस विज्ञप्ति जारी गरेको छ । संस्थाले विज्ञप्तिमार्फत ग्यान्सको नाममा गरिएको मनगढन्ते प्रचार, मन्दिर र नेतृत्वमाथि लगाइएका आरोपहरू निराधार रहेको स्पष्ट पारेको छ । 

ग्यान्सले भनेको छ— “ग्यान्स अस्टिन र वरपरका १९ काउन्टीमा बसोबास गर्ने नेपाली समुदायबीच एकता, सहयोग र सांस्कृतिक संरक्षणका लागि बनेको संस्था हो । अमेरिकी कानुन अन्तर्गत ५०१ (अ) मा दर्ता भई आफ्नो विधानअनुसार सञ्चालन हुँदै आएको यो संस्था समुदायका लागि सामुदायिक तथा आध्यात्मिक केन्द्र स्थापनासँगै श्री पशुपतिनाथ मन्दिर निर्माण गरेर चिनिएको छ।”

संस्थाका अनुसार केही व्यक्तिहरूले व्यक्तिगत स्वार्थका कारण सामाजिक सञ्जालको दुरुपयोग गरी संस्थाको बदनाम गर्ने प्रयास गरिरहेका छन् । जसकारण संस्था प्रेस विज्ञप्ति जारी गर्न बाध्य बनेको हो । 

ग्यान्सले आफ्नो विज्ञप्तिमा लेखेको छ, “अमेरिकाको महँगो समय, श्रम र पैसा संस्थाको हितमा खर्च गर्ने स्वयंसेवक र दाताहरूप्रति हाम्रो उच्च सम्मान छ । विगतका अध्यक्षहरू— गेहेन्द्र केसी, देवराज न्यौपाने, भोजराज भट्ट र हालका अध्यक्ष विदुर खतिवडाको नेतृत्वमा ग्यान्सले महत्वपूर्ण उपलब्धी हासिल गरेको छ र तिनकै नेतृत्वमाथि लक्षित चरित्र हत्या र षड्यन्त्रका विरुद्ध संस्था दृढतापूर्वक खडा रहनेछ ।”

ग्यान्सले आफ्नो आर्थिक र प्रशासनिक कामकाज पूर्णरूपमा पारदर्शी रहेको बताउँदै, तेस्रो पक्षबाट समेत लेखा परीक्षण गराइसकेको उल्लेख गरेको छ । “हामीले कुनै प्रकृया उल्लंघन गरेका छैनौं, बरु सबै नियम पालना गर्दै काम गरेका छौं,” विज्ञप्तिमा भनिएको छ ।

संस्थाले दुई मुख्य बुँदामा स्पष्टिकरण पनि दिएको छ ।
१. मन्दिर र व्यक्तिको फोटो प्रयोग गरी चरित्र हत्या गर्ने गलत अभ्यास अस्वीकार्य भएको र यसले धार्मिक आस्थामाथि प्रहार गरेको ।
२. ग्यान्सको प्रगति र सफलतामा योगदान नगरेका केही समूह र व्यक्तिहरूले लगातार हिलो छ्याप्ने कार्य गरिरहेका छन्, जसले समुदायमा गलत सन्देश दिएको । 

विज्ञप्तिमा भनिएको छ, “हामी सामाजिक सञ्जालमा प्रतिवाद गर्न चाहँदैनौं, बरु आफ्नो आन्तरिक संरचना र बैठकमार्फत समस्याको समाधान खोज्न प्रतिबद्ध छौं । आउनुहोस्, सबै पक्ष मिलेर ग्यान्स र यसको उपलब्धीलाई सुरक्षित राखौं ।”

ग्यान्स कार्य समिति तथा संचालक समितिले अन्त्यमा सबै समुदायजनलाई एकता र सहकार्यको सन्देश दिँदै आउँदो तिहार लगायतका चाडपर्वहरूको हार्दिक शुभकामना व्यक्त गरेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update