काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकताको प्रयासलाई तीव्रताका साथ अघि बढाइरहेको छ । माओवादीले विचार मिल्ने र समाजवादको दिशामा राजनीतिक एजेण्डा बोक्नेहरुसँग एकता, सहकार्य र मोर्चाबन्दी गर्ने भनिरहेको छ । यस्तोमा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीसँगको एकता अन्तिम चरणमा पुगेको बताइएको छ, भने अन्य विषय भने अन्योलतातर्फ धकेलिन पुगेका छन् ।
राजनीतिक दलहरुले आफ्नो औचित्यमाथिको संकट देखिन थालेपछि पार्टी एकतालाई जोड दिने गर्छन् । अहिले पनि यसरी नै पार्टी एकताले रफ्तार लिने संकेतहरु देखिन थालेका छन् । यस्तोमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसंगको पार्टी एकता सहमतिको बिन्दुमा पुग्न थालेको बताइन्छ । पार्टी एकता गर्ने सवालमा नेकपा एकीकृत समाजवादीमा रहेको मतभेदमा अध्यक्ष माधव नेपालले आवेग देखाएका छन् । अध्यक्ष नेपालले माओवादीसंगको एकतामाथि आलोचना र टिप्पणी गर्ने नेताहरुलाई एमालेमा जान घुमाउरो चुनौती नै दिएका छन् ।
माधव नेपालले यस्तो जिकिर गर्नुमा नेकपा एसका सम्मानित नेता झलनाथ खनालदेखि महासचिव घनश्याम भुसाल र रामकुमारी झाँक्री लगायतका नेताहरुले गरिरहेको आलोचना र एमालेसंगको एकतामा जानुपर्ने मतमा कारण देखिन्छ । यता, माओवादी केन्द्रमा पनि पार्टी एकताको विषयलाई लिएर तनाव सिर्जना हुने देखिन्छ ।
माओवादी केन्द्रमा भने नेकपा एससंगको एकता एकीकृत ढंगले हुनुपर्ने भनिएको छ । यसमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा एससंगको एकतामा विभाजित नभएर सिंगो पार्टीसंग हुनुपर्ने भनेका छन् ।
यता, माओवादी केन्द्रमा भने नेताहरुले कम्युनिष्ट पार्टी नेपालको नाम लिएर निर्वाचन आयोगमा पुगेका नेत्रविक्रम चन्द ‘विप्लव’माथि समेत आक्रोश पोख्न थालिएको छ । राजन दाहाल र माधव सापकोटाले विप्लवलाई पार्टी एकतामा आउन अपिल गर्दै आलोचना समेत गरेका छन् । यसमा राजन दाहालले त पार्टीको नाम छलफलको क्रममा उठेको र त्यो लिएर निर्वाचन आयोगमा किन पुगेको भन्दै प्रश्न समेत गरेका छन् । यसरी पार्टी एकताको विषयमा छरपष्ट रुपमा एकताको विषयमा चलेका विषयहरुले एकता कसरी होला भन्ने चासो थप बढेको छ ।
एकता को सँग ?
माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसंगको एकतालाई अन्तिम रुप दिने बताइरहेको छ । तर, विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपालसंग भने एकता तत्कालका लागि टरेको बताइन्छ ।
विप्लवले विभिन्न सञ्चार माध्यमलाई दिएका अन्तरवार्तामा समेत एमालेसंग समेत एकताको छलफल भइरहेको भनेका छन् । यसरि हेर्दा समेत माओवादी घटकको एकता तत्काल हुनेमा शंका थपिएको छ । तर, माधव नेपालसहितको एकता भने नजिकमा पुगेको बताइन्छ ।
माधवको बाध्यता
माधव नेपाल राजनीतिक जीवनको उत्तराद्र्धमा छन् । भ्रष्टाचार आरोपका कारण समेत संकटमा फसेका नेपालको सुरक्षामा खटिएका सुरक्षाकर्मी समेत सरकारले फिर्ता लिइसकेको छ । यसरी हेर्दा माधव नेपाल अब नेकपा एस नै चलाउने स्थितिमा देखिन्नन् ।
यसरी संकटलाई नजिकबाट समाधानमा लैजान पनि उनले पार्टी एकतालाई जोड दिने सम्भावना बलियो बनेको देखिन्छ । पार्टी एकतामा जाँदा माओवादी घटकभित्रबाट आफ्नो प्रतिरक्षा हुने ठानेका माधवले सहज बाटोका लागि समेत एकतालाई जोड दिनेछन् । जसकारण नेकपा एस सग्लो वा फुटको बीचबाटै भएपनि एकतमा जाने सम्भावना बलियो देखिन्छ ।
