काठमाडौं । सुशिला कार्की नेत्तृत्वको अन्तरिम सरकारमा झण्डै मन्त्री बनेका खगेन्द्र सुनारको नाम अन्ततः काटिएको छ । मन्त्री बन्ने सूचीमा उनको नाम देख्ने बित्तिकै ठूलै तरंग मच्चिएको थियो । विभिन्न आपराधिक पृष्ठभूमिका फरार अभियूक्त भन्दै अदालतले पक्राउ आदेश दिएका कागजात समेत सार्वजनिक भएपछि प्रधानमन्त्री कार्की सुनारलाई मन्त्री बनाउबाट पछि हटेकी हुन् । झण्डै मन्त्री पद पड्काउन लागेका सुनारको ट्रयाक रेकर्ड कस्तो छ त ?
सुशिला कार्की नेत्तृत्वको अन्तरिम सरकार आइतवार एउटा ठूलो खड्गोबाट जोगिएको छ । सरकार बनेको करिब डेढ महिनापछि प्रधानमन्त्री कार्की तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दै थिइन् । नयाँ थपिने मन्त्रीहरुमा चार जनाको नाम सार्वजनिक भयो । जसमध्ये मन्त्रीको सूचीमा खगेन्द्र सुनारको नाम देख्ने बित्तिकै सामाजिक सञ्जालहरुमा भूकम्प नै आयो ।
मन्त्रीको सपथ लिन तयारी अवस्थामा रहेका सुनारका विरुद्ध अनेक प्रमाण सहितका अदालती कागजातहरु बाहिरिए भने उनको एकपछि अर्को काण्डहरु पनि सार्वजनिक भए । दलित अभियान्ताको रुपमा चिनिएका खगेन्द्र सुनार काठमाडाँैमा हुने विभिन्न प्रदर्शनहरुमा सहभागि भइरहन्छन् । संवैधानिक पद र राजनीतिक नियुक्तिमा दलित प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै शरीरमा नेल लगाएर दलितलाई खोई लेखिएको ब्यानरसहित लामो समय धर्नामा बसे ।
सुनारमाथि लागेका अभियोगहरु
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको सपथ लिन तयारी अवस्थामा रहेका खगेन्द्र सुनार दैलेखको नारायण नगरपालिका २ भैसेखोरका स्थायी बासिन्दा हुन् । उनीविरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएको पाइएको छ । स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको कसुरमा उनलाई सरकारी वकिलले प्रतिवादी बनाएर मुद्दा दायर गरेपछि सुनारविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
उनीविरुद्ध सुर्खेतस्थित गुर्भाकोट नगरपालिकामा रहेको मेहेलकुना अस्पतालका प्रमखु डा. सोजन सापकोटाले जाहेरी दिएका थिए । असार १४ गते दायर भएको मुद्दामा अदालतले उनलाई ७ दिने पक्राउ पुर्जी जारी गरेको थियो । तर उक्त मितिभित्र पक्राउ नपरेपछि ३५ दिने पुर्जी तामेल गरेर उपस्थित गराउनु भन्दै उनको गृहजिल्ला रहेको दैलेख जिल्ला प्रहरी कार्यालयमा अदालतले पत्राचार गरिएको थियो । यो मुद्दामा उनलाई पक्राउ गरी अनुसन्धान र अभियोजन गर्न बाँकी छ ।
सुनारविरुद्ध काभ्रे जिल्ला अदालतमा पनि विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा रहेको छ । फेसबुकमा व्यक्तिगत गालीगलौच गरेपछि अधिवक्ता मनिषा गौतमले उनीविरुद्ध मुद्दा दायर गरेकी हुन् । अदालतमा उक्त मुद्दा पनि विचाराधिन अवस्थामै छ ।
अदालतले बोलाएपनि सुनार गएका छैनन् । यसबाहेक सुनारमाथि सर्वोच्च अदालत जलाउने अभिव्यक्ति सहित विभिन्न व्यक्तिलाई धम्की, गालीगलौज गरेको र विभिन्न ठगीमा संलग्न भएको आरोपमा दर्जनौँ उजुरी समेत परेको देखिन्छ । सुनारले बहुविवाह गरेको भन्दै जेठी श्रीमतिले राष्ट्रिय महिला आयोगमा उजुरी पनि दिएकी थिइन् भने उनी वैदेशिक रोजगारी ठगीमा समेत पक्राउ परेर छटेको खुलेको छ ।
कारबाहीको तयारी
विभिन्न फौजदारी मुद्दामा पक्राउ पुर्जी जारी गरिएका र फरार सूचीमा रहेका खगेन्द्रलाई मन्त्री बन्ने चर्चाका बीच भएको आलोचनापनि पक्राउ गर्न प्रहरी कस्सिएको छ । काभ्रेपलाञ्चोक जिल्ला अदालतले साउन ५ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा उनलाई पक्रने तयारी प्रहरीले गरेको छ । त्यस्तै सुर्खेत जिल्ला अदालतबाट तोडफोड तथा हातपात सम्बन्धी मुद्दामा पनि उनीविरुद्ध पक्राउ पुर्जी छ ।
