
- त्रिगुणा भट्टराई बस्नेत
काठमाडौं । गत वैशाखमा विश्व स्वास्थ्य संगठनको ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर जी.आई.सी.सीसँग बाल क्यान्सरका लागि आवश्यक ३५ प्रकारको औषधि निशुल्क ल्याउन सरकारले सहमती गरेको थियो । तर सहमती भएको १० महिना भइसक्दा पनि दाताले निशुल्क दिने भएको औषधि आउँने अझै टुङ्गो लाग्न सकेको छैन । सहमती अनुरुप निशुल्क औषधि ल्याउनका लागि अर्थ मन्त्रालयले भन्सार शुल्क छुट सम्बन्धि निर्णयमा आन्यौलता देखिएकाले दाताबाट प्राप्त ३५ प्रकारका औषधि नेपाल आउने टुङ्गो लाग्न नसकेको देखिन्छ ।
क्यानसर रोगका लागि प्रयोग हुने औषधि मंहगो मात्र हैन यस्ता किसिमका औषधि नेपालमा नबन्ने भएकाले सहजै पाउँनसमेत मुस्किल छ । यस्तो अवस्था विभिन्न विदेशी दादाहरुले बालक्यानसरका लागि निशुल्क प्रदान गर्ने औषधिका कारण नेपालमा क्यानसर पिडीत बालबालिकाको उपचारमा सहयोग पुग्ने गरेको छ । यस्तो अवस्थामा नेपालले प्राय विदेशी दाताको भर पर्नु पर्ने अवस्था छ । त्यसैले नै राहतका लागि भन्दै गत बैशाख पहिलो साता विश्व स्वास्थ्य संगठनको ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर जी.आई.सी.सीले नेपाल सहित ६ वटा देशमा ३५ प्रकारका औषधिहरु निशुल्क दिने सहमती गरेको थियो । निशुल्क औषधि पाउनेमा नेपालसमेत परेकाले नेपालको बाल क्यानसरमा उपचारमा थप सहयोग पुग्ने अपेक्षा समेत गरिएको थियो । तर विडम्बना दाताले दिने भएको बाल क्यानसरका ३५ प्रकारका औषधि पनि अर्थ मन्त्रालयबाट भन्सार छुटका विषयमा निर्णय हुन नसक्दा औषधि कहिले आउँछ भन्ने निश्चित हुन सकेको छैन ।
नेपालमा प्रत्येक वर्ष १५ सय बढि बालबालिका क्यान्सरबाट पीडित हुने गरेको तथ्यांक छ । जसमा रक्त क्यान्सर बढी हुने गरेको छ । रक्त क्यान्सरको बिरामी समयमै उपचार पाएमा अधिकांश बालबालिका निको हुने गरेको चिकित्सकहरु बताउँछन् । तर क्यान्सरको उपचार प्रक्रिया पनि लामो हुने साथै औषधि पनि लामो समय सेवन गर्नुपर्ने हुन्छ । जसकाकारण बाल क्यानसरका लागि जी.आई.सी.सीले निशुल्क दिने भनेको ३५ प्रकारको औषधि सहयोग नेपालले पाउँनुले क्यानसर पिडीत बालबालिकाको उपचारमा थप सहयोग पुग्ने थियो । सम्झौतामा उल्लेख भएका ३५ औषधिमा रक्त क्यान्सरका विभिन्न प्रकारसहित, आँखामा हुने रेटिनोब्लास्टोमा, मस्तिष्कसम्बन्धी क्यान्सरको केमोथेरापीमा प्रयोगमा आउँने औषधिहरु रहेका छन् । तर औषधि ल्याउन स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयमा तीन पटक पत्रचार गरेतापनि अर्थ मन्त्रालयबाट अहिलेसम्म प्रक्रिया अगाडी बढ्न सकेको छैन ।
बाल क्यान्सर सम्पूर्ण क्यान्सरमा छैठौँ र बाल स्वास्थ्य समस्यामा मध्ये नवौँ प्रमुख स्वास्थ्य समस्या मानिएको छ । क्यान्सर पिडीत बालबालिकाहरु मध्ये सन् २०३० सम्म ६० प्रतिशतलाई निको गराउने लक्ष्य सहित दाताबाट ३५ प्रकारका औषधि नेपाललाई पनि निशुल्क उपलव्ध गराएको थियो । यदि समयमै नेपालले ३५ प्रकारका औषधि ल्याउन सकेको भए धेरै क्यानसर पिडीत बालबालिका यसबाट लाभांवीत हुने निश्चित थियो । तर औषधि ल्याउँन आवश्यक प्रक्रियाका लागि सरकारले सहजीकरण गर्न नसक्दा बाल क्यानसरमा उपयोगी औषधि नेपाल कहिले भित्रने हो त्यो भने निश्चित छैन ।