
- सन्दिप शर्मा
काठमाडौं । सुनको अवैध पैठारी तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बिहिबार प्रतिवेदन बुझायो ।
प्रतिवेदन बुझेलगत्तै २ घन्टा मन्त्रालयको ढोका बन्द गरि अध्ययन गरेका लामिछाने लगतै प्रतिवेदन बोकेर प्रधानमन्त्रीकहाँ छलफलमा पुगे, लामिछानेले शुक्रबारदेखि प्रतिवेदनले दोषि देखाएकाहरुलाई कारबाही प्रक्रिया अगाडि बढाएा छन् भने अनुसन्धानमा लापारवाही गर्ने प्रहरी अधिकारीलाई पनि जिम्मेवारी मुक्त गरेका छन् ।
सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धि पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित जाँचबुझ आयोगले उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बिहिबार बुझाएको प्रतिवेदनमा सुन तस्करीमा हाइप्रोफाइलकै व्यक्तिहरुको समेत संलग्नता रहेको र सिआईबी अनुसन्धान क्रृटि पूर्ण रहेको उल्लेख गर्दै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, ठमेलको छायाँ सेन्टरमा वाल्डो क्यासिनो सञ्चालन गरिरहेका चिनियाँ नागरिक टेरेन्स टिएचसी, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालयका परराष्ट्र विज्ञ जीवन गुरूङ, विध ल्याबका सञ्चालक भीमकान्त भण्डारी, जीवन चलाउने र होटल भियनाका सञ्चालक मन्जिल श्रेष्ठलाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको हो ।
प्रतिवेदनमा सुन तस्करसँग सोझै सम्पर्कमा रहेको भन्दै अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीलाई पनि दोषी मानिएको छ ।
यसैगरी सरकारी वकिल कार्यालयका बासुदेव शर्मा र जनकराज घिमिरेलाई पनि प्रतिवेदनले दोषी ठहर गर्दै विभागीय कारबाहीका लागि सिफारिस गरेको छ ।
सिआइबी प्रमुख एआइजी किरण बज्राचार्य, एसपी सञ्जय सिंह थापा, डिएसपी रूगम कुँवर र दुर्गा दाहालले सुन तस्करी प्रकरणका मुख्य नाईके जोगाउन भूमिका खेलेको ठहर गर्दै उनीहरूलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ ।
सुन प्रकरणमै सुबु केसीलाई पनि मुद्दा चलाउन सिफारिस गरिएको छ । आयोगले सुन तस्करीमा केसीको समेत संलग्नता ठहर गर्दै प्रतिवेदनमा उल्लेख गरेको छ ।
तिब्बती मुलका बेल्जियन नागरिक दावा छिरिङको मोबाइलको फरेन्सिक जाँच गर्दा केसीको संलग्नता पुष्टि भएको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी पूर्व आईजीपी धिरज प्रताप सिंह पनि सुन तस्करी प्रकरणमा संलग्न रहेको भन्दै कारबाही गर्न सिफारीस गरिएको छ ।
सुन तस्करी आरोपमा साउन १४ मा पक्राउ परेका दावा छिरिङसँग सिंहको निकट सम्बन्ध रहेको कुरा प्रतिवेदनमा उल्लेख गरेको स्रोतको भनाइ छ ।
आयोगले बुझाएको ४८५ पृष्ठको प्रतिवदेनमा १३ अनुच्छेद र ९ अनुसूची छन् भने ९ भन्सार नाकाको स्थलगत अनुगमन गरि ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार पारीएको जानाकारी गराईएको छ ।