
रौतहट । रौतहटको एक सुधार केन्द्रमा युवकमाथि कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरलल भएपछि प्रहरीले अनुसन्धान थालेको छ । आज बिहान सामाजिक सञ्जालमा बाहिरिएको एक भिडियोमा एक जना व्यक्तिले पाइपले अर्का एक व्यक्तिलाई पैतालामा निर्घात कुटपिट गरिहेका छन् ।
भिडियोमा कुटाइ खाने व्यक्ति भुँइमा लडिरहेका छन् भने उनलाई ३ जनाले समातिरहेका छन् । भिडियो गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रको रहेको खुलेको छ । भिडियो भाइरल भएपछि अनुसन्धानको लागि प्रहरी टोली खटिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिए । सो कार्यालयबाट प्रहरी नायव उपरिक्षकको नेतृत्वमा टोली खटि अनुसन्धान कार्य अगाडी बढाइएको गिरीको भनाइ छ ।
यता जिल्ला प्रशासन कार्यालय रौतहटले पनि यस विषयमा अनुसन्धान अगाडि बढाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधी तिवारीको नेतृत्वमा छानविन टोली पठाएर अनुसन्धान अगाडि बढाएको छ । तिवारीका अनुसार भिडियोमा कुटाइ खाने व्यक्ति गौर महादेवपट्टीका रितेश कुमार यादव रहेका र कुट्ने कर्मचारी पर्सा जिल्ला पोखरियाका चिकु पाण्डे रहेका छन् । पाण्डेले ५ महिना अगाडिनै सो सुधार केन्द्र छोडिसकेको पाइएको तिवारीले जानकारी दिए । कुटाइ खाने यादव २०८१ मंसिर १५ गते डिस्चार्ज भएर २०८१ मंसिर १८ गते पुनः भर्ना भएर २०८१ पुष ४ गते डिस्चार्ज भएर घर गइसकेर सामान्य जीवनयापन गर्दै बसेको पाइएको तिवारीको भनाइ छ ।
सो सुधार केन्द्र मुल दर्ता पर्सा जिल्लामा गरेर २०७३ माघ १२ गते जिल्ला प्रशासन कार्यालय रौतहटबाट शाखा बिस्तारको अनुमति लिएर सञ्चालन गरेको पाइएको छ । यता सुधार केन्द्रका सञ्चालक भने सो भिडियो तिहार ताकाको भएको र भिडियो आफ्नै एक कर्मचारीले आफुहरुलाई ब्ल्याकमेलिङ्ग गर्न खिचेको दावी गर्छन् ।