News 24 Television
यी हुन् बाल मन्दिर जग्गा प्रकरणमा मुद्दा चलाइएका १७ व्यक्ति

काठमाडौँ । बाल मन्दिर जग्गा प्रकरणको मुद्दा काठमाडौँ जिल्ला अदालतमा दायर भएको छ । बुधबार जिल्ला सरकारी वकिल कार्यालयले रीता सिंह वैद्यसहित १७ जनाविरुद्ध मुद्दा दायर गरिएको हो । 

उनीहरूसँग ६० करोड ३९ लाख ७७ हजार २३१ रुपैयाँ ५ पैसा बिगो माग दाबी गरिएको छ । यसअघि सीआईबीले मुद्दा नचलाउने निर्णय गरेको उक्त प्रकरणमा मंगलबार महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउने निर्णय गरेको थियो । 

नेपाल बाल संगठनको तत्कालीन अध्यक्ष रहेकी रीता सिंह वैद्यसहित १७ जनाविरुद्ध उक्त मुद्दा दायर गरिएको हो । वैद्य शहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी हुन् । 

मुद्दा चलाइएका अन्य व्यक्तिमा अधिकांश बाल सङ्गठनकै पूर्व पदाधिकारीहरु रहेका छन् । जसमा तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, तत्कालीन महासचिव गणेश भक्त श्रेष्ठ, सदस्य एवं स्रोत तथा परिचालन उपसमितिका संयोजक कृष्ण शंकर साह, अख्तियार प्राप्त महासचिवहरु श्यामकुमार आले र सुवास कुमार पोखरेल रहेका छन् । 
 
यसैगरी, बाल संगठनका तत्कालीन महासचिव रामकाजी गुरुङ, उपाध्यक्ष योगेन्द्रबहादुर शाही, उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ समेत रहेका छन् । 

अर्कोतर्फ जग्गा लिजमा लिने बृहस्पति विद्यालय व्यवस्थापन प्रालिका अध्यक्ष पुरुषोत्तम राज जोशी, तत्कालीन सञ्चालकहरु प्रवीणराज जोशी, मुरारी निधि तिवारी, श्रद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्ति प्रसाद पाण्डेयलाई पनि मुद्दाका प्रतिवादी बनाइएको छ । सिंघानिया, केडिया र पाण्डेय तीन जना भारतीय नागरिक रहेको उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update