News 24 Television
गृहमन्त्रीमाथि आक्रोश पोख्न खोज्दा छताछुल्ल विनोद चौधरी

काठमाडौँ । बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा बयानका लागि पुगेका कांग्रेस सांसद समेत रहेका डलर अर्बपति विनोद चौधरी आक्रोशित पेश भएका छन् । 

गृहमन्त्री रवि लामिछानेलाई इंगित गर्दै स्टन्टबाजको संज्ञा दिएका उनले आफूलाई बयानै लिन नहुने शैलीले पेश भएपछि के उनीविरुद्ध अनुसन्धान हुनै नहुने हो ? भन्ने प्रश्न उठेको छ । चारित्रिक रुपमा अब्बल दाबी गरेका विनोदमाथिको अनुसन्धान सबै युवा व्यवसायीको मनोबल गिराउने प्रपञ्च नै हो ? 

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिनाको आरोपपछि कांग्रेस सांसद विनोद चौधरी दलबलसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा बयानका लागि पुगे । बयानपछि विजेता भावमा निस्किएका चौधरीले आफुलाई बयान लिएर प्रहरीले समग्र निजी क्षेत्रलाई नै दूरुत्साहन गर्न खोजेको प्रतिक्रियासहित गृहमन्त्री रवि लामिछानेमाथि आक्रोश पोखे । 

यही जग्गा प्रकरणमा सीआईबीले प्रकरणमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालीका सेयर सदस्य रहेका वसन्त चौधरीसँग पनि बुधवार बयान लियो । चौधरी परिवार नै अनुसन्धानमा तानिएपछि उनी आक्रोशित मात्रै बनेका छैनन्, नीजि क्षेत्रमाथिको दबाब भन्दै अनुसन्धानमाथि नै प्रभाव जमाउने कोसिस गरिरहेका छन् ।

यो प्रकरणमा उनी निर्दोश रहेछन् भनेपनि आफुमाथी लागेका यस्ता आरोपहरु गलत छन् भन्ने पुष्टी गर्नका लागि म माथि अनुसन्धान गर्नुस् भनेर आफैँले भन्नुपर्ने हो । तर, त्यसो नभई उद्योगीलाई अनुसन्धान गरेर राज्यले दुःख दिएको, निजी क्षेत्रलाई निरुत्साहित गरेको भन्ने प्रतिक्रिया उनले व्यक्त गरे । यो कदमले नेपालमा मात्र होइन, विदेशमा समेत राम्रो संदेश नगएको सम्म भन्न भ्याए । प्रहरीको अनुसन्धान भनेको सामान्य प्रक्रिया हो भन्नेसम्मको ज्ञान चौधरीलाई नभएको त पक्कै होइन । तर यो कोकोहोलो किन गर्दै छन् त, भन्ने आशंका उब्जिएको छ । 

बाँसबारी छाला–जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिनाको आरोपमा सीआईबीले छानविन गरिरहेको छ । छाला जुत्ता कारखानाको जग्गामध्ये १० रोपनी जग्गा हाल सिजी चाँदबाग रेसिडेन्सी पा.लि.को नाममा छ, जसको अध्यक्ष विनोद चौधरीका भाई अरुण चौधरी हुन् । 

तत्कालीन समयमा चौधरी समुहकै च्याम्पियन फुटवेयर लिमिटेडको नाममा कारखानाको १० रोपनी जग्गा आएको थियो, हाल सोहि कम्पनीलाई चाँदबाग रेसिडेन्सी पा.लि. बनाइएको छ । यो समग्र प्रक्रियामा चौधरी परिवारले शक्तिको आडमा गैह्रकानुनी बाटोबाट जग्गा हडपेको आरोपमा सीआईबीले अरुण चौधरीसहित ३ जनालाई १६ माघमा पक्राउ गरेको थियो । तर, उनीहरु रिहा भइसकेका छन् ।

विनोद चौधरीका लागि प्रहरि अनुसन्धान भनेको आफुलाई निर्दोष प्रमाणित गर्दै आमतहमा लागेको आरोपबाट मुक्त हुने अवसर पनि हो । तर, यसलाई जसरी उनले अनावश्यक बढाइचढाई गरेका छन्, यसले उनीमाथि नै आशंका बढाएको छ । बयान सकिएपछि विनोद भने श्रीलंकातर्फ प्रस्थान गरेको बताइन्छ । 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update