News 24 Television
जिबी कहाँ छन्, गृहमन्त्री र आईजीपीलाई सबै थाहा छ तर... !

काठमाडौं । पोखरास्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ठगी प्रकरण गृहमन्त्री रवि लामिछानेको टाउको दुखाईको विषय बनिरहेको छ ।

उक्त सहकारीका पूर्वसंचालक गितेन्द्रबाबु राई अर्थात (जिबी)सँग व्यवसायिक साझेदारी गरेकै कारण रविमाथि ठगीको गम्भीर आरोप लाग्दै आइरहेको हो । 

सहकारीको रकम दुरुपयोग गरेको आरोपमा प्रहरीले संचालक जिबी राईविरुद्ध पक्राउ पूर्जी जारी गर्दादेखिनै रविको नाम जोडिँदै आएको थियो । तर गत फागुन २१ मा नयाँ सत्ता समीकरण खडा भयो ।

त्यसपछि बनेको सरकारमा रवि गृहमन्त्री बने । यो सँगै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यसलाई मुख्य मुद्धा बनाएर गृहमन्त्रीको राजीनामालाई बटमलाईन बनाइ रहेको छ । 

काँग्रेसले आफूहरुसँग रविले सहकारीका बचतकर्ताहहरुको रकम अपचलन गरेको प्रमाण रहेको भन्दै छानविनका लागि समिति बनाउनुपर्ने जोडदार माग गर्दै आइरहेको छ । 

बुधबार गृहमन्त्री रवि पनि सहभागी भएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा काँग्रेसले पुनः उनको राजीनामा माग्यो ।

रविविरुद्ध बचतकर्ताहरुबाट पोखरास्थित प्रहरी कार्यालयमा उजुरी परेको काँग्रेसले दावी गर्दै आएको छ । तर पर्याप्त प्रमाण नभएको कारण उक्त उजुरीमाथि अनुसन्धान गर्न नपर्ने प्रहरीले जवाफ दिँदै आएको छ । 

जुन विषय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि संसदको रोष्टममै उभिएर स्पष्ट पारिसकेका छन् । यद्यपि सहकारीका पूर्वअध्यक्ष जिबी राईलाई भने प्रहरीले खोजी रहेको छ । 

उनलाई पक्राउ पूर्जी जारी गरेको पनि महिनौ बितिसक्यो । तर प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । 

जीबीविरुद्ध इन्टरपोलमा ‘डिफ्यूजन नोटिस’ जारी भएको पनि २ महिना नाघिसक्यो । यद्यपि उनी पक्राउ पर्ने अझै छाँटकाट देखिएको छैन । 

गृहमन्त्री रविले जिबीलाई आकाश पाताल जहाँ रहेपनि पक्राउ गरेर देखाउने अभिव्यक्ति दिँदै आएका छन् । 

नेपाल प्रहरी र इन्टरपोललेसमेत खोजी गरिरहँदा जिबी पक्राउ पर्न नसक्नुलाई आम नागरिकले रहस्याको रुपमा लिएका छन् । 

ग्यालेक्सी फोरके टीभीमा व्यावसायिक साझेदारी गरेका रवि र जिबीको मित्रवत सम्बन्धनलाई लिएर पनि कतिपयले शंका व्यक्त गरिरहेका छन् । 

बुधबार नेपाल प्रहरीका महानिरिक्षक वसन्तबहादुर कुँवरले जिबी राई मलेशियामा रहेको ठोकुवा गरे । तर नेपाल र मलेसिया बीचमा सुपुर्दगी सन्धी नभएका कारण राईलाई नेपाल पठाउन मलेशिया सरकार बाध्य नभएकाले प्रहरी नै अफ्ठ्यारोमा रहेको उनको भनाइ छ । 

यद्यपि जिबीलाई नियन्त्रणमा लिने भरपुर प्रयास भइरहेको महानिरिक्षक कुवारले बताएका छन् । 

गृहमन्त्री, प्रहरी र इन्टरपोललेसमेत जिबीलाई पक्राउ गर्ने प्रयास गरेपनि केही अनर्तराष्ट्रिय कानून बाधक बन्दा उनलाई पक्रा उगर्न असहज भइरहेको हो । जसका कारण अहिले जिबी गृहमन्त्री रवि र प्रहरी संगठन भन्दा शक्तिशाली देखिएका छन् । 

तत्कालीन रविका व्यावसायीक साझेदार जीबीमाथि कास्कीमा मात्रै १९ हजार बढी बचतकर्ताको एक अर्ब ३५ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोप छ । आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि जिबी फरार छन् । 

यसअघि बाटै नेपाल प्रहरीले जिबी राई मलेशियामै रहेको आशंका गर्दै आइरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ०५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update