News 24 Television
माधवको घुर्कीले प्रचण्ड–ओली लत्रक्क, सत्तामा वर्चश्व 

काठमाडौँ । सत्ता गठबन्धनमा उच्च महत्व दिएर भित्र्याइएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बार्गेनिङलाई हतियार बनाउदै अघि बढिरहेका छन् । सत्ता गठबन्धनमा आफ्नो दललाई सत्ताको भर्याङ मात्रै बनाउन खोेजिएको भन्दै कडा रुपमा पेश भएका माधवले सत्ता गठबन्धन दलको बैठकमा बार्गेनिङ गर्दै प्रदेश नेतृत्वका लागि आफ्नो दबाबलाई निर्णायक मोडमा पुर्याउन सफल देखिएका छन् । 

नेपाली कांग्रेससहितको सत्ता गठबन्धन फेरिएपछि एमालेसहितको समीकरण बन्यो । सत्ता पक्षले एमाले–माओवादी केन्द्रसहितको गठजोडलाई गठबन्धन नभनि समीकरण मात्रै भनिरहेको छ । यस्तो समीकरणमा नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश सरकार विस्तारमा निर्णायक देखिन्छ । अधिकांश प्रदेशमा निर्णायक मत लिएर बसेको नेकपा एसले यहि संसदीय अंकगणितको जटिलतालाई लिएर बार्गेनिङ तीव्र बनाएको छ । 

सत्ता समीकरणको बालुवाटार बैठकमा माधव नेपालले आफ्नो पार्टीलाई सत्ताको भ¥याङ बनाउन खोजिएको भन्दै आक्रोश पोखे । एमाले–माओवादी केन्द्रले प्रदेश सरकारको नेतृत्व लिने विषयमा सहमति जुटाए पनि माधवको मत निर्णयक भएका प्रदेशमा संकट आउने देखियो । यहि कारण पनि माधवले बार्गेनिङ बढाए । त्यसपछि बालुवाटारको माहोल भिन्नै बन्न  पुग्यो । 

बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने समय घर्किनै लाग्दा पनि टसमस नभएका माधवलाई अन्तत बागमतीमा मुख्यमन्त्री आलोपालोमा समेट्ने र सुदूरपश्चिमको मुख्यमन्त्री पनि दिने सहमति जुट्यो । त्यसपछि बालुवाटार बैठकले सत्ता समीकरणको जोखिमलाई न्यूनिकरण गर्ने कामको आशा पलायो । बागमतीमा आलोपालोमा मुख्यमन्त्री लिने सहमति र सुदूरपश्चिमको मुख्यमन्त्री लिने विषय सहज भने छैन् । सुदूरपश्चिममा करिब करिब निर्णायक जस्तै देखिएको नागरिक उन्मुक्ति पार्टी विवादपछि फूटको संघारमा छ । नाउपाभित्रको विवाद कुटाकुटमै केन्द्रित बनिसकेपछि अब सुदूरपश्चिमको नेतृत्व माधव नेपालको नेकपा एसले पाउला ? शंका भने छ । 

तर, यसअघि नै मुख्यमन्त्री कमलबहाददुर शाह संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नेतृत्वमा पुगेकाले अब उपधारा ५ बमोजिमको सरकार बन्दा भाग पाउने सम्भावना भने बलियो छ । तर, विश्वासको मतमा संकट आउने र मध्यावधीको बाटोमा जाने डर पनि उत्तिकै छ । सत्ता गठबन्धनमा आफ्नो दलको बलियो उपस्थिति खोजेका माधव नेपालले प्रदेश सरकारको नेतृत्वका लागि गरेको बार्गेनिङले स्थायित्व पाउला ? शंका भने छ । तर, जटिल अंक गणितकै कारण माधव सत्ता गठबन्धनमा बलियो ढंगले बार्गेनिङ गर्न सक्ने नेता भने बनेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update