News 24 Television
इलाममा रास्वपा–एमालेबीच घमासान, हर्कको प्रचारले हंगामा ! (भिडियो)

काठमाडौं । आगामि वैशाख १५ हुने उपनिर्वाचनका लागि दलहरुले आफ्नो उम्मेदवार टुंगाएका छन् ।  उम्मेदवार चयनमा विलम्ब गरेको नेपाली कांग्रेसले डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने माओवादी केन्द्रले एमालेकै उम्मेदवार सुहाङ नेम्वाङलाई सहयोग गर्ने भएको छ । 

मनोनयनको सम्मुखमा आइपुग्दा खड्का र नेम्वाङका अलावा रास्वपाका मिलन लिम्बु र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।

यस्तो अवस्थामा कसको पक्कड कति छ त ? इलाममा यसबारे पनि चर्चा परिचर्चा अनि अनेक आकलन भइरहेका छन् । 

आगामी वैशाख १५ गते इलाम २ मा हुने उपनिर्वाचनका लागि दलहरुदेखि स्वतन्त्र उम्मेदवार फिल्डमा सक्रिय देखिन्छन् । 

अहिले दलहरुले आफ्नो उम्मेदवारको टुंगो लगाइसकेका छन् । एमालेले उम्मेदवार चयनमा विलम्ब नगरि मैदान उत्रेको एक हप्ता बढी भइसक्यो तर, नेपाली कांग्रेसले भने बल्ल विहीबार उम्मेदवार टुंगो लगायो । 

यसरी हेर्दा  उपनिर्वाचनको मनोनयन दर्ताको सम्मुखमा आइपुग्दा दलहरुको कित्ताकाट भइसकेको छ । 

नेपाली कांग्रेसले डम्बर खड्कालाई टिकट दिएको छ । जिल्लादेखि केन्द्रसम्म रस्साकस्सीका बिच टिकट पाएका खड्कालाई नेपाली कांग्रेसकै भरपुर साथ नमिल्ने प्रष्ट छ । 

अघिल्लो निर्वाचनमा सुवास नेम्वाङसँग पराजित भएपछि जिल्लाका ३ हजारभन्दा धेरै कार्यकर्ताको अन्तरघातका कारण चुनाव हारेको भन्दै समीक्षा सभामै रोएका थिए डम्बर खड्का । 

चुनाव हारेपछि आफ्नै नेता कार्यकर्तामाथि दोष थोपरेको भन्दै इलाम २ मा खड्काप्रति त्यतिबेलै आक्रोश चुलिएको थियो । 

यो विगत हेर्दा तथा हाल टिकट वितरणमा देखिएको असन्तुष्टीका कारण खड्का झनै कमजोर देखिएका छन् । 

केन्द्रीय नेताहरु नै एकढिक्का नदेखिँदा खड्कालाई पार्टीभित्रैबाट भरपुर साथ नमिल्ने स्पष्ट छ । 

नेकपा एमालेलाई इलाममा दोहोरो अनुकुलता छ । इलाम २ मा शक्तिशाली जनमत र पृष्ठभूमी तथा माओवादीको समेत साथ पाएको एमाले सुहाङले जित्नेमा ढुक्कजस्तै देखिन्छ । तर कोशी प्रदेशमा एमाले पहिचानको विपक्षीका रुपमा कहलिएको छ । 

साथै विरासतको राजनीतिको ट्याग सुहाङका लागि कमजोरी बन्ने देखिन्छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाएका मिलन लिम्बु पनि सघन चुनावी प्रचारप्रसारमा देखिएका छन् । 

केन्द्रबाट रास्वपाका नेताहरु तथा सभापति रवि लामिछाने स्वयं इलाममा माहोल बनाउनका लागि केन्द्रीत छन् । 

चितवन र तनहूँ उपनिर्वाचनकै शैलीमा इलाममा पनि जित निकाल्ने विश्वास रास्वपामा छ । 

इलाम उपनिर्वाचनमा पहिचान पक्षधरका उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई पनि बलियो प्रतिस्पर्धीका रुपमा हेरिएको छ । 

कोशी प्रदेश नामाकरणको घटनापश्चात पेचिलो बनिरहेको पहिचानको मुद्धा यो उपनिर्वाचनको निर्णायक पक्ष बन्ने विश्लेषण अधिकांशको छ । 

थेगिमलाई जनता समाजवादी पार्टीले समर्थन गरेको छ भने धरान उपमहानगरका मेयर हर्क साम्पाङले समेत समर्थन गर्दै प्रचार गरिरहेका छन् । 

२०५६ सालदेखि इलाममा  एमालेले गाडेको किल्ला भत्काउन अन्य दलहरुलाई कठीन नै  छ । तर चुनावी माहोल नियाल्दा प्रतिस्पर्धा रोचक र बलीयो हुने देखिएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update