News 24 Television
लाखौं डुबेको छ भन्दै मन्त्री डीपीले कांग्रेसमाथि आक्रोश पोखेपछि...

काठमाडौं । सहकारी ठगी प्रकरणको विषयमा मुछिएका श्रममन्त्री डीपी अर्यालले आफू पनि सहकारी पीडित रहेको दाबी गरेका छन् । 

सहकारी ठगी आरोपमा डीपीको नाम मुछिएपछि उनले कांग्रेसमाथि आक्रोश पोख्दै आफ्नो लाखौं रकम सहकारीमा डुबेको दाबीसहित आफूलाई पीडितको रुपमा व्याख्या गरेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका श्रममन्त्री डीपी अर्याल पनि पछिल्लो समय सहकारी ठगी आरोपमा मुछिएका छन् । 

डीपीसँगै रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि सहकारी ठगी आरोपमा मुछिएपछि यो विषयमा संसदमै कांग्रेसले विरोध जनाइरहेको छ । 

कांग्रेसले विरोध मात्रै गरेको छैन, संसदीय समितिको माग समेत गरिेहेको बेला मन्त्री अर्यालले भने आफ्नो पैसा उठाइदिनेलाई केहि रकम दिने दाबा गरेका छन् । 


मन्त्री अर्यालले आफूमाथि लागेको आरोपको खण्डन गर्दै यस्तो दाबी गरेपनि हाम्रो नयाँ कृषी सहकारी संस्था लिमिटेडमा उपाध्यक्ष बनेका उनीमाथि अपचलनको आरोप लागेको छ । तर, यो आरोपलाई संसदमा लैजाने कांग्रेसमाथि डीपीले भने सत्ताबट बाहिरिनु परेको पीडाबाहेक नभएको दाबी गरिरहेका छन् । 

कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र अन्य युवा नेताहरुमाथि आक्रोश पोखेका डीपीले सहकारी ठगी आरोप अस्विकार गरेपनि सहकारीको अपचलनको विषय छानविनको क्रममै रहेकाले अहिले नै भन्न सकिने स्थिति भने देखिन्न । तर, रास्वपाका शीर्षस्थ नेताहरमाति नै ठगी आरोप लाग्नु र त्यसमा गितेन्द्रबाबु राई (जीबी) जोडिनुले आशंका भने बलियो बनिरहेको छ । 

सहकारीमाथि विश्वासको संकट

देशभरका विभिन्न सहकारीले सर्वसाधारणको निक्षेप अपचलन गरेको पाइएपछि पछिल्लो समय सहकारीप्रति मानिसको विश्वास हट्दै गएको छ । 

सहकारी संस्थाले उद्देश्य र अधिकार क्षेत्रबाहिर गएर ऋण प्रवाह गर्ने, अर्काको वचतमा जथाभावी गर्ने, सञ्चालकले निक्षेपलाई बलजफ्ति दुरुपयोग गर्ने लगायतका काम गर्नाले सहकारी संकटमा फसिरहेका छन् । 

सहकारीमा धेरैले अर्बाैं वचत गुमाएपछि पछिल्लो समय बैंक तथा वित्तिय संस्थामाथिकै विश्वासमा संकट आउन थालेको छ । 

अर्थतन्त्रमा देखिएको संकुचन र वित्तिय अपराध कानूनको दायरामा आउनै नसक्ने किसिमका स्थिति सिर्जना हुनुले पनि सहकारीप्रतिको आम बुझाई नकारात्मक बन्दै गएको छ । 

यसले समग्रमा सिंगो अर्थ प्रणालीलाई नै समस्यामा पार्ने हुनाले सरकार र सरोकारवालाले ध्यान जान जरुरी छ ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update