काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी रकम अपचलनमा संलग्न रहेको घटनाप्रति छानबिन गर्न संसदीय समिति गठन नगर्नु सहकारी पीडितप्रति गैरजिम्मेवार भएको ठहर गरेको छ ।
मंगलवार संसद भवनमा बसेको संसदीय दलको बैठकले ठक वर्तमान सरकार सहकारीबाट पीडित भएका लाखौँ नागरिकप्रति गम्भीर र संवेदनशील हुन नसकी गैरजिम्मेवार भएको ठहर गरेको हो । बैठकका बारेमा जानकारी दिँदै काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारको बहालवाला मन्त्रीहरु समेत सहकारीको रकम अपचलन गर्नेकुरामा संलग्न देखापरेको अवस्थालाई सरकारले संवेदनशीलता नदेखाएको आरोप लगाए ।
उनले काँग्रेसले प्रारम्भदेखि नै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलनको काममा संलग्न भएको कुरालाई लिएर निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धान गर्न माग गरेको बताए । संसदीय दलको बैठकले नेपाली काँग्रेसले उठाउँदै आएको माग उचित रहेको ठहर गरेको पनि उनको भनाइ छ ।
हामी रचनात्मक तर सरकारका कमी कमजोरीलाई सशक्त रुपबाट उठाउनेछौँ । अहिले सहकारीमा लाखौँ नागरिकले रकम जम्मा गरेका छन्,’ लेखकले भने, ‘अर्बौं रुपैयाँ जम्मा भएको छ । देशभरका विभिन्न सहकारीमा वचतकर्ताको रकमको दुरुपयोग, अपचलन, ठगी हुने खालका घटना देखापरेका छन् । यतिसम्म की सरकारको बहालवाला मन्त्रीहरु समेत सहकारीको रकम अपचलन गर्नेकुरामा संलग्न देखापरेका छन् । यसमा नेपाली काँग्रेसले प्रारम्भदेखि नै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेजी सहकारीको रकम अपचलनको काममा संलग्न भएको कुरालाई उठाएका छौँ । यसका निमित्त निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धानका निमित्त संसदीय छानबिन समिति बनाउन माग गरेका छौँ ।’
काँग्रेसले उठाएको मागप्रति सरकार गैरजिम्मेवार भए संसदका काम कारबाही रोकिएको जिम्मा सरकारले नै लिनुपर्ने उनले बताए । उनले भने, ‘तत्काल नेपाली काँग्रेसको माग बमोजिम सहकारीको रकम अपचलन भएको विषयमा संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ । काँग्रेस संसद अवरोध चाहँदैन । तर काँग्रेसले उठाएको मागकाप्रति गैरजिम्मेवार भएर यदी सरकार गैरजिम्मेवारीपूर्ण ढंगले प्रश्तुत भयो भने संसदका काम कारबाहीको जिम्मा सरकारले लिनुपर्छ ।’
काँग्रेस संसदीय दलको बैठकले आपसमा धार्मिक, सामाजिक, सांस्कृतिक विपरित विद्वेष फैल्याउने कुनै पनि खालका तत्वहरु अनुचित रहेको समेत ठहर गरेको छ । सुनसरीमा भएको धार्मिक झडपप्रति काँग्रेस गम्भीर रहेको बताएको छ ।
