News 24 Television
गणतन्त्र धरमरमा पार्ने राजावादीको आन्दोलन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थाको मागसहित आन्दोलन गरिरहेको छ । हिन्दु राज्य र राजसंस्थाको मागसहित आन्दोलनमा उत्रिएको राप्रपाले कसलाई राजा बनाउन चाहन्छ ? भन्ने प्रश्नको जवाफ नै नदिई गरिरहेको आन्दोलनलाई सेटल गराउने जिम्मेवारीमा छन, गणतन्त्रका लागि लडेका प्रधानमन्त्री प्रचण्ड । के आफ्नै पालामा फालिएको राजतन्त्र फर्काउने आन्दोलनको चेपमा प्रचण्ड पर्लान ? राप्रपाको आन्दोलनले निर्णायक मोड लिन सक्ला ? 

राजालाई भगवानको अवतार ठान्ने समूदाय नेपालमा अहिले पनि छ । राजालाई भगवान मान्ने समूदायले चाहेका राजा को हुन ? ज्ञानेन्द्र शाह, ज्ञानेन्द्रका छोरा पारस वा पारसका छोरा ? वा अरु कोहि नै ? यसको जवाफ न राजा चाहने जनतासँग छ । न राजगद्दीको रहर पालेका ज्ञानेन्द्र र राप्रपासँग नै । 

नागरिक अभिनन्दनको क्रममा देशभर पुग्ने गरेका पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको शासन व्यवस्थामाथि टिप्पणीमात्रै गर्दैनन्, नयाँ समझदारीको अपिल समेत गर्न थालेका छन् । तर, जुन स्थितिमा ज्ञानेन्द्रले सत्ता त्याग गरे, अब के त्यो अवस्थामा ठूलो फेरबदल आयो ? यसको सुक्ष्म अध्ययन आवश्यक छ । तर, राजाको अनुहार देखाएर आन्दोलनमा होमिएको राप्रपा आफैले पनि राजा को हो बनेर भन्न नसक्दा राप्रपाको मक्सदमै शंका भने गर्न थालिएको छ ।

राप्रपाले राजसंस्थालाई प्रमुख एजेण्डा बताउने गरेको छ । अहिलेको संविधानले गणतन्त्रलाई मुख्य आधार मानेको छ । यस्तोमा संविधानको मुख्य मर्ममै विरोध गर्दा सरकारले गणतन्त्रको बचाउमा कदम चाल्नु स्वभाविक नै होला । यसकारण राप्रपाको आन्दोलनमा सरकारले दमन विस्तारै शुरु गर्ने आशंका छ । दमनका सामान्य घटना देखिएपछि राप्रपाले गृहमन्त्रीको राजीनामा माग गरेको छ । 

राप्रपाले शान्तिपूर्ण आन्दोलन भनेपनि प्रदर्शनकारीहरुले डिभाइडर फाल्नेदेखि प्रहरीमाथि ढुंगामुढा गर्ने र निषेधित क्षेत्र तोड्नका लागि कोकाहाल गर्न खोजिरहेको देखिन्छ । 

प्रचण्डमाथिको संयोग

प्रधानमन्त्री प्रचण्ड गणतन्त्र स्थापना गर्नेदेखि संविधानमा धर्मनिरपेक्षता, संघीयता समावेश गराउने प्रमुख पात्र हुन् । प्रचण्डले अहिलेको संविधानलाई नै सहमतिको दस्तावेज भन्दै पूर्ण नरहेको दाबी गरिरहेका छन् । 

प्रचण्डको यस्तो दाबीको अर्थ हो, संविधान अझैं प्रगतिशिल बनाउनुपर्नेछ । समाजवादमा जान थप कुराहरुमा संशोधन गर्नुपर्नेछ । तर, यता राप्रपाले भने यो संविधानभन्दा धेरै पछि २०४७ सालको संविधानमा पुग्ने आन्दोलन गरिरहेको छ । गणतन्त्र ल्याउनका लागि लडेका प्रचण्डले सत्ताको कमाण्ड सम्हालेको बेला राप्रपा आन्दोलित बनेको छ । 

यस्तोबेला के प्रचण्डले गणतन्त्रविरोधी आन्दोलनमा व्यापक दमनको श्रृङ्खला थोपार्लान ? आम चासो चुलिएको छ । तर, संविधान पक्षधर दलहरुबीचको आपसी सहकार्यमा खास सुधार हुन नसकेको बेला प्रचण्डमाथि वर्सिएको राजतन्त्रको डण्डा बलियो नबन्ला भन्ने आधार भने देखिन्न ।
 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update