News 24 Television
एमालेको काउन्टर : काँग्रेसको नियतमाथि छानबिन गर्न अर्को समिति 

काठमाडौँ । नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली काँग्रेस सरकारमा हुँदा सहकारी प्रकरणको छानविन अगाडि नबढाएको विषयमा काँग्रेसमाथि नै छानविन गर्नुपर्ने बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले नेपाली काँग्रेस सरकारमा हुँदा सहकारी प्रकरणमा प्रश्न उठेका व्यक्तिको किन छानबिन भएन भनेर प्रश्न गरेका हुन् । उनले सरकारमा हुँदा किन अनुसन्धान गरिएन भन्दै काँग्रेसको नियतमाथि अनुसन्धान गर्न अर्को समिति बनाउनुपर्ने बताए । 

काँग्रेसले सरकारबाट बाहिरिनेबित्तिकै प्रतिशोध साँधेको उनको आरोप छ । सरकारमा हुँदा जनता सहकारीबाट ठगिएको नदेख्ने कांग्रेसले सरकारबाट बाहिरिनासाथ देखेको उनले बताए ।

‘विधि स्थापित गर्ने ठाउँबाट विधिलाई सत्यनाश गर्ने, विधिलाई समाप्त पार्ने काम हुँदैछ । दुःखद् कुरा हो,’ उनले भने, ‘प्रमुख प्रतिपक्षले आफ्ना आन्दोलनका रुपहरुलाई बदल्नुपर्छ । सांसदको कानून बनाउने मुख्य अभिभारा वा जिम्मेवारी अवरोध नगर्नका लागि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आग्रह गर्न चाहन्छु । यो संसदबाट समिति बनाउने नै हो भने पहिलो कुरा सरकारमा हुँदा काँग्रेसले किन बद्नियत राखेर दोषिका बारेमा, प्रश्न उठेका व्यक्तिका बारेमा अनुसन्धान गर्न चाहेन ? प्रक्रिया अगाडी बढाउन चाहेन ? त्यो नियतको बारेमा अध्ययन र अनुसन्धान गर्न समिति बनाउनुपर्छ । सरकारबाट बाहिर आउनेबित्तिकै प्रतिशोध साँध्नका लागि, सरकारबाट हट्ने बित्तिकै सहकारीबाट धेरै जनताहरु ठगिएका रहेछन् भनेर देख्ने ? सरकारमा हुँदा पट्टी बाँधेर हिँड्ने ।’

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update