News 24 Television
प्रचण्डका कारण ‘अदलबदल’ राजकीय सत्ता

काठमाडौँ । त्रिशंकु संसद र जटिल संसदीय अंकगणितका कारण राजकीय पदको बाँडफाँट समेत रोचक ढंगले अघि बढिरहेको छ । संवैधानिक नियुक्तिका विषयदेखि विभिन्न क्षेत्रमा निर्वाचित हुने पदाधिकारिहरुमा सत्ता समिकरणमा आउने फेरबदलले नयाँ स्वरुप देखाइरहेको छ । प्रधानमन्त्री प्रचण्डले फेर्ने सत्ता गठबन्धन र त्यसपछि हुने राजकीय सत्ता कस्ता बने त ? 

तेश्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल 'प्रचण्ड’ले  यो कार्यकालमै तीन पटक विश्वासको मत लिए । आफूले छोटो समयमै तीन पटक विश्वासको मत लिएर रेकर्ड कायम गरेको भन्दै खुशी समेत साटे । यो खुशीको विषय थियो वा राजनीतिक अस्थिरता त्यो भने समिक्षा हुने नै छ । 

सत्ता अदलबदलको प्रभाव र राजकीय सत्ता

१. राष्ट्रपति रामचन्द्र पौडेल
नेपाली कांग्रेसका रामचन्द्र पौडेल प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले गठबन्धन फेरेर उनलाई राष्ट्रपति निर्वाचित गराए । राष्ट्रपतिको निर्वाचन अघिसम्म एमालेले पाउने भनिएको राष्ट्रपति पद अन्ततः कांग्रेसको पोल्टामा गयो । 

२. उपराष्ट्रपति रामसयाह प्रसाद यादव
जनता समाजवादीका रामसहायलाई उपराष्ट्रपति निर्वाचित गर्ने विषय नै विवादीत बन्यो । यादव पनि पुरुष भएको भन्दै समानुपातिक प्रतिनिधित्वको सवाल पनि उठ्यो तर, लिङ्ग वा समूदाय भन्ने संवैधानिक व्यवस्थालाई टेकेर उनी उपराष्ट्रपति बन्नुमा पनि प्रचण्डले नै भूमिका खेले । गठबन्धन नफेरिएको हुन्थ्यो भने माओवादी केन्द्रले उपराष्ट्रपति पाउने एमालेसँग सहमति जुटेको थियो । 

३ सभामुख देवराज घिमिरे
सभामुख देवराज घिमिरे एमाले नेता समेत हुन् । कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउन आनाकानी गरेपछि एमालेसहितको गठबन्धन बनाएर सरकार गठन हुँदा नै एमालेलाई सभामुख दिने सहमति जुट्यो । यहि समहति अनुसार उनी सभामुख बने । 

४. राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल
नारायण दाहाल माओवादी केन्द्रका नेता तथा नाताले प्रचण्डका भाई हुन् । प्रचण्डका भाई दाहाल राष्ट्रियसभा अध्यक्ष बन्ने खास बलियो सम्भावना थिएन । तर, प्रचण्डले कांग्रेससँगको गठबन्धन तोड्दै एमालेसँग गठबन्धन गरेपछि कांग्रेसका कृष्णप्रसाद सिटौला जिल्लिन पुगे । सिटौलालाई चक्मा दिदै प्रचण्डले राष्ट्रियसभामा आफ्नो पार्टीको प्रतिनिधित्व गराए । 

५. उपसभामुख इन्दिरा राना मगर
राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी इन्दिरालाई उपसभामुख बनाउने विषय पनि प्रचण्डको प्रधानमन्त्रित्वमै सम्पन्न भयो । उनले राष्ट्रिय सहमति भन्दै इन्दिरालाई उपसभामुख बनाएको दाबी गर्ने गरेका छन् । 

६. राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे
राष्ट्रियसभाको चुनाव कांग्रेससँगको गठबन्धन फेरिएपछि नयाँ बाटोमा छ । अध्यक्ष माओवादी केन्द्रले पाएपछि उपाध्यक्षमा एमालेलाई दिने काम भएको छ । एमालेकी घिमिरे उपाध्यक्ष बनेकी छन् । यो स्थानमा गठबन्धन नफेरिएको भए माओवादी केन्द्रको भागमै पर्ने सम्भावना थियो । उर्मिला अर्याल माओवादीबाटै उपाध्यक्ष थिइन् । उनलाई राजीनामा गराएर निर्वाचन गरिएको हो । 

राजकीय सत्ताको महत्व कहाँ ?

संवैधानिक परिषदमा कोरम पुग्ने नपुग्ने विषय अत्यन्तै विवादीत देखिन्छ । जसमा प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलको सहभागीता हुनुपर्ने प्रावधान छ । 

संवैधानिक परिषद्ले विभिन्न राजनीतिक नियुक्तिदेखि महत्वपूर्ण काम गर्ने हुनाले पनि यसको महत्व अत्यन्तै गम्भीर रुपले लिएन्छ । यस्तोमा अब प्रचण्डको उलटफेरका कारण बहुमतले निर्णय गर्नुपर्ने विषय नै जटिल बन्ने त होइन भन्ने आशंका समेत उब्जिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update