काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राजतन्त्रको पक्षमा कुनै पनि काम हुन नदिने चेतावनी दिएका छन् । कुनैबेला राजावादी भएको आरोप खेपेका ओली पछिल्लो समय राजाको विरोधमा उत्रिदै आएका छन् । संविधान मानेर लोकतान्त्रिक विधिबाट सबै माग पुरा गर्न सकिने तर, संविधान बाहिर कुनै पनि इच्छा रहर पुरा हुन नदिने भन्दै ओलीले अहिले तरङ्ग पैदा गरिदिएका छन् ।
एमाले अध्यक्ष केपी ओलीले जनआन्दोलनका समय बयलगाढा चढेर अमेरिका पुगिन्न भन्दै अभिव्यक्ति दिएपछि उनलाई निरन्तर राजावादी नेताको रुपमा ट्याग लाग्न थालेको थियो । दुई–दुई पटक संसद विघटन गरेका ओलीले उनकै सहयात्री दल र नेताहरुले राजावादी नेता भनिदिए । निरंकुश नेताको उपमा दिदै ओलीमाथि निरन्तर आक्रमण हुनेक्रम नरोकिदै ओलीले पूर्वराजाविरुद्धका आवाज खुलेरै दिन थालेको देखिन्छ । यस्तोमा पूर्वराजा ज्ञानेन्द्र शाहले भने देशका विभिन्न स्थानमा पुगेर सहमति, सहकार्यको वातावरण सिर्जना गर्दै मुलुकलाई समृद्ध पार्ने योजना ल्याइरहेका छन् ।
ज्ञानेन्द्रले यस्तो अपिल नयाँ वर्षमा समेत गरे । वक्तव्यमार्फत ज्ञानेन्द्रले नयाँ समझदारी गर्दै देशको अभिभाकत्व स्थिर शासकको माग बढेको भन्दै राजा ल्याउने सहमतिको घुमाउरो अपिल गरेहका छन् । तर, त्यसको भोलिपल्टै एमाले अध्यक्ष केपी ओलीले संविधानले तोकेको दायरामा आएर सबै काम गर्न छुट दिएको स्मरणमात्रै गराएनन्, उनले देशको नेतृत्व परिवारलाई दिन नसकिने प्रष्ट भने ।
एमाले–राप्रपा बढ्दो दूरी
गएका निर्वाचनमा सहकार्य गर्दै राजावादी दल राप्रपालाई संसदमा ल्याउने गरेका ओली पछिल्लो समय राप्रपाविरुद्ध समेत बोल्ने गरेका छन् । हुनत, सबै दल र नेताहरुमाथि टिप्पणी गर्ने बानी ओलीको पुरानै बानी हो । तर, राप्रपाले राजा ल्याउने भन्दै गरिरहेको आन्दोलन सम्भव नहुने भन्दै संविधानभित्र रहेर माग राख्न उनले सुझाव नै दिएका छन् ।
ओलीले राप्रपालाई सत्तामा ल्याउनेदेखि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सहजै आफ्नो पक्षमा पार्ने काम गर्दै आएका छन् । तर, राप्रपाले पछिल्लो समय सडकमा आन्दोलन र राजतन्त्रको बलियो वकालत गर्न थालेको छ । अझं अहिले त राप्रपाले देशको स्थिति जुन स्थितिमा पुगेको छ, त्यसले राजाको विकल्प नभएको पुष्टी गरेको छ भन्न थालेको छ ।
यसरी राप्रपा र एमालेबीचको दुरी बढ्ने क्रममा छ । संविधानको पक्षमा एमाले दृढ देखिएको छ भने राप्रपा संविधानको विपक्षमा रहँदै आएको छ । यस्तोमा अब उनीहरुबीच कस्तो सम्बन्ध स्थापित हुँदै जाला भन्ने समेत अन्योलताको विषय बनिरहेको छ ।
