काठमाडौं । सहजै सत्ता छाडेका पुर्वराजा ज्ञानेन्द्र शाह फेरि गद्दीमा फर्किने रहर पालेर बसिरहेका छन् । आफ्नो गद्दी फर्काइदिने जिम्मा राप्रपालाई दिएका ज्ञान्देन्द्र शाह राप्रपाका नेताहरुसँग खुव देश दौडाहमा उत्रिन थालेका छन् । तर, ठूला राजनीतिक शक्ति भने राजा आजको आवश्यकता नभएको भन्दै गणतन्त्र सुदृढीकरणको विषय उठाइरहेका छन् ।
राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राजाको संवैधानिक अनुहार देखाएर राजनीतिमा सक्रिय छ । राजा चाहिने भन्दै सडकमै आएको राप्रपा कसलाई गद्दीमा बसाउन चाहन्छ भन्ने जवाफविहीनताको अवस्थामा छ । तर, पूर्वराजालाई संगै उभ्याएर उनैलाई राजा हुन् भन्ने देखाउन भने खोजिरहेको छ । यस्तोमा राजालाई स्थिर र अभिभावक मान्नुपर्ने धारणामा राप्रपा छ ।
राप्रपाले घोषित रुपमै संवैधानिक राजा भन्दै आए पनि प्रमुख ठुला दलहरुले भने लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको र व्यक्तिलाई थपना राख्न नसकिने भन्दै कडा पेश हुन थालेका छन् ।
एमाले अध्यक्ष ओली राजतन्त्रप्रति आक्रामक पेश भइरहेका बेला अर्को ठूलो दल नेपाली कांग्रेस पनि गणतन्त्रको विकल्पमा राजतन्त्र नहुने निष्कर्षमा छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्किने सम्भावना नरहेको र यहि व्यवस्थालाई नै सुदृढ पारेर लैजानुपर्नेमा जोड दिइरहेका छन् ।
पूर्वराजाको आकांक्षा र राप्रपामाथिको आशंका
पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय खुलेरै आफू मुलुकको नेतृत्वमा आउन चाहेको भन्न थालेका छन्। उनले नविनतम समझदारी गर्ने भन्दै राजसंस्थाको वकालत गरिरहेको विषय छिपेको छैन । यस्तोमा पूर्वराजाले बोकेको राजनीतिक शक्तिले ज्ञानेन्द्रलाई राजाको रुपमा ल्याउन अहम भूमिका खेल्न सक्छ ? प्रश्न भने छ ।
राप्रपाले राजा ल्याउने भन्दै सडकमा गरिरहेको प्रदर्शनले कस्तो नतिजा ल्याउला ? आम चासोको रुपमा देखिएको छ ।
राप्रपाको राजनीतिक शक्ति बढेपनि के राप्रपाले राजालाई संवैधानिक रुपमा चाहन्छ ? शंका छ । राजा चाहने शक्तिले गणतन्त्रवादी शक्तिसँगको सहकार्य, सरकारमा सहभागीता र राजाबारेको बुझाइ प्रष्ट पार्ने कार्यक्रम कतै नदेखिएकाले पनि राप्रपाको इच्छामाथि शंका गर्न थालिएको छ ।
राप्रपालाई राजा चाहिएकै भए, जनतामा यहि मुद्दा लिएर जान्थ्यो । सरकारमा जाँदैन थियो । अर्को विषय राजालाई प्रत्यक्ष जनतासँग जोड्ने गरि सबैको साझा व्यक्तिको रुपमा अघि सार्ने भूमिका पनि खेल्थ्यो । तर, राप्रपा राजाको अनुहार देखाएर राजनीतिक शक्ति केन्द्रिकृत गर्ने दाउबाहेकमा नदेखिएको विश्कलेषण हुन थालेको छ ।
राजतन्त्र किन फर्किन सक्दैन ?
राजतन्त्रको पक्ष विपक्षमा जसरी बहस भइरहेको छ, त्यो नै स्वबाविक बन्न सकेको देखिन्न । राजाको प्रत्यक्ष शासनबाट त्रिसित बनिरहेको एउटा पुस्ता राजा शब्द नै सुन्न चाहन्न ।
राजाबाट पालित पोषित शक्तिहरु भने राजाको दह्रो मागसहित देखिन्छन् । अर्को पक्ष राजाको नाम जपेर राजनीतिक रुपमा बलियो बन्ने र सत्ता र शक्तिको खेलमा सहभागी हुने दाउमा देखिन्छ ।
राप्रपाभित्र कडा राजावादी र नरम राजावादी भन्दै नेताहरुको वर्गिकरण नै गरिएको पाइन्छ । यसले पनि राप्रपा नै राजा फर्काउने राजनीतिक अडानमा छ त ? शंका उब्जाउने क्रममै छ ।
राजाको पक्षमा माहोल बनाउन राजसंस्थाका राम्रा पक्षलाई सार्वजनिक गर्नुपर्ने यस्ता दल र नेताहरु सत्ता शक्तिको तानातानमै अभ्यस्त छन् ।
गणतन्त्रमा देखिएको निराशाले जनतामा आक्रोश देखिएपनि पछि फर्किने गरि जनता नै तयार भएको देखिन्न । राजावादीहरुले उचालि रहेका धर्मको विषय भने संवेदनशील छ । राज्यले धर्मान्तरको विषयलाई कडाईका साथ लागू गराउने र स्वतन्त्रतामाथि कुनै अंकुश नलगाउने नीति अख्तियार गरेमात्रै पनि राजसंस्था फर्किने बाटो देखिन्न ।
यद्यपी अहिलेको व्यवस्थालाई थप विकृत बनाउदै लैजाने र निराशालाई चिर्ने काम गर्न नसक्दा भने कालान्तरमा अर्को व्यवस्थाको नाममा विद्रोह नहोला भन्न सकिने अवस्था छैन् ।
